अबको प्रधानमन्त्री को ?

दियो पोस्ट  

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । सोमबार यो समाचार तयार पार्दासम्म जम्मा १५९ निर्वाचन क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भएको छ । ६ क्षेत्रको परिणम आउँन बाँकी छ । सार्वजनिक मतपरिणम अनुसार नेपाली काँग्रेसले धेरै सिट अर्थात ५५ सिट जितेको छ । एमाले दोस्रो (४४) र माओवादी केन्द्र (१७) सिटसहित तेस्रो बनेको छ । १६५ निर्वाचन क्षेत्रको मत परिणम आउनु अगावै विभिन्न दलका शिर्ष नेताहरुले प्रधानमन्त्रीको लागि दौडधुप सुरु गरेको छ ।

सोमबार (१२ मंसिर) नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटघाट गरेका छन् । भेटघाटमा पौडेलले माधव नेपालसँग प्रधामन्त्री बन्नको लागि सहयोग मागेको हो । नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपालको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘तपाईं गठबन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ । यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो ।’

त्यस्तै आईतबार साँझ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका नेता प्रकाशमान सिंहबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको थियो । दुई नेताको भेटमा आपसमा चुनाव जितेकोमा बधाई साटासाट भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए । ‘बधाई साटासाट र चुनावी नतिजाबारे छलफल भयो, त्यसबाहेक सामान्य राजनीतिक कुराकानी पनि हुने नै भयो’,लामिछानेको भनाइ छ ।

एमालेका नेताहरूले कांग्रेससँगको सत्ता सहकार्यका लागि आफूहरू खुला रहेको बताइरहेका बेला कांग्रेका नेता सिंहले ओलीलाई भेटेका हुन् ।

दौडमा को-को ?
काँग्रेसबाट रामचन्द्र पौडेल र प्रकाशमान सिंह मात्रै प्रधानमन्त्रीको दौडमा छैनन् । काँग्रेसबाट नै शेर बहादुर देउवा र गगन थापा पनि प्रधानमन्त्री बन्ने आशामा बसेका छन् । देउवाले निर्वाचन हुनु अगावै आफु प्रधानमन्त्री हुने दावी गर्दै आएका थिए भने काँग्रेसका महामन्त्री समेत रहेका गगन थापाले आफु प्रधामन्त्री हुने दाबी गरेका छन् ।

गगन थापाले आफु प्रधानमन्त्री हुने दाबी गर्दै संसदिय दलको नेताका लागि उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन् । थापालाई काँगेसभित्र कै आधा भन्दा बढी निर्वाचित सांसद्हरुको समर्थन रहेको काँग्रेसका एक नेताले बताए । ‘गगनलाई आधा भन्दा बढी निर्वाचित सांसद्हरुको समर्थन छ ।’ ति नेताले भने,‘अब युवाहरुको पालो आउनुपर्छ भन्ने हो । गगन थापा परफेक्ट पात्र हुन् ।’ महामन्त्री विश्वप्रकाश शर्माले समेत गगनलाई प्रधामन्त्री बन्न सहयोग गर्ने बताएका छन् । तर, गगनले खुट्टा कमाएको अवस्थामा आफू नै प्रधानमन्त्रीका लागि संसदीय दलको नेतामा भिड्ने शर्माको समेत संकेत छ ।

काँग्रेससँगै एमालेबाट केपी शर्मा ओली समेत प्रधामन्त्रीका आकांक्षी हुन् । उनलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषित गर्दै नेकपा एमाले निर्वाचनमा गएको थियो । एमालेको संसदीय दलको नेता रहेका ओलीलाई पार्टीले नै प्रधामन्त्रीको रुपमा अगाडी सारेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पनि प्रधामन्त्रीका दाबेदार हुन् । उनले निर्वाचन अगावै आफु प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका छन् ।

किङमेकरको हैसियतमा माओवादी केन्द्र !
अब देशको प्रधानमन्त्री बनाउने निर्णायक अधिकार नेकपा माओवादी केन्द्रले पाएको देखिन्छ । काँग्रेसले आफुले प्राप्त गरेको सिटका आधारमा मात्रै सरकार गठन गर्न सक्दैन । त्यस्तै नेकपा (एमाले)ले समेत आफुले प्राप्त गरेको सिटका आधारमा सरकार बनाउन सक्दैन । सरकार निमार्णका लागि अन्य दलसँगको गठबन्धन आवश्यक्ता पर्ने हुँदा माओवादी केन्द्र निर्णायक देखिएको हो ।

नेकपा (एमाले)ले माओवादी केन्द्रसँगै सहकार्य गरेर सरकार गठनको लागि गृहकार्य सुरु गरेको छ । त्यस्तै नेपाली काँग्रेसका संस्थापन पक्ष (देउवा पक्ष) गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् भने काँगैसका संस्थापन इतर पक्ष (शेखर कोइराला पक्ष) गठबन्धन भन्दा बाहिर रहेर सरकार बनाउने तयारीमा देखिन्छ । तर निर्वाचनमा सँगै गएको सत्ता गठबन्नधनमा काँग्रेसले सोचेअनुरुप मत ट्रान्सफर नगरेपछि नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धन तोड्ने मुडमा देखिन्छ । माओवादी केन्द्रले समर्थन गरेको पार्टी वा गठबन्धन गरे मात्रै सरकार बन्ने सम्भावना छ । त्यसको विकल्पमा अन्य थुप्रै साना दलहरुसँग सहकार्य गरेर मात्रै सरकार बन्ने छ ।

सत्ता गठबन्धन बहुमत तर्फ उन्मुख !
प्रतिनिधि सभा सदस्यको कुल संख्या २७५ हो । १७५ सांसद मध्ये १३८ जना पुगे बहुमत पुग्छ । हाल समानुपातिकको मत संख्या समेत अन्तिम चरणमा पुगेको छ । चर्चित ब्लगर उमेश श्रेष्ठका अनुसार समानुपातिकमा नेकपा एमालेले ३५ सिट हाराहारी पाउनेछ । नेपाली कांग्रेसले ३३ सिट र माओवादी केन्द्रले १५ सिट सुरक्षित गरेको छ । माओवादी केन्द्रकै हाराहारीको सिट राष्ट्रिय स्वतन्त्र पार्टीको छ ।

सत्तारुढ गठबन्धनले १ सय ३७ भन्दा बढी सिट सुरक्षित गर्ने अनुमान छ । नेकपा एमाले र राप्रपा गठबन्धनले १ सय २ सिट हाराहारी ल्याउने अनुमान छ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही स्वतन्त्र व्यक्तिहरुले समर्थन गरे ओली नेतृत्वको गठबन्धन पनि बलियो हुनेछ । तर, त्यस्तो संभावना कम छ । यदि त्यस्तो भए प्रधानमन्त्रीको खेल नयाँ सिराबाट शुरु हुनेछ ।

सिफारिस