काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५९ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । अब ६ क्षेत्रको आउन बाँकी छ । सार्वजनिक मतपरिणम अनुसार नेपाली काँग्रेसले धेरै सिट अर्थात ५५ सिट जितेको छ । एमालेले दोस्रो (४४) र माओवादी केन्द्र (१७) सिटसहित तेस्रो बनेको छ । त्यस्तै समानुपातिकतर्फको मत गणनापनि अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउनका लागि संघर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् ।
हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनावमा पराजित भएका छन् । यस निर्वाचनमा शक्तिशाली मानिने गृहमन्त्री बालकृष्ण खाँणदेखि खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् ।
मन्त्रीमा देखिएन नैतिकता
जनमतको परिक्षणमा असफल भएपछि यी मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिने नैतिकता भने अहिलेसम्म देखाउन सकेका छैनन् । निर्वाचनको अन्तिम परिणाम आएर नयाँ सरकार बन्ने प्रक्रियाका लागि अझै केहि साता लाग्ने भएपनि पराजित भएपछि उनीहरुले मन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्नेमा अहिलसम्म पनि पदमा बसिरहेको पाइएको छ । चुनाव हारेर पनि पदमा बसेको भन्दै आलोचना भइरहेको छ । अहिलेको राजनीतिमा उच्च राजनीतिक संस्कार र नैतिकताको अभाव रहेको यस घटना पुनपुष्टि गरेको छ ।
पदलोलुपताको नमुना
त्यसैले अहिले चुनाव हारेपछि पदमा बसिरहनु पदलोलुपताको नमुना देखिएको छ । त्यसैले सार्बजनिक पदमा बसेका व्यक्ति जनमतको परिक्षणमा असफल भएपछि तुरुन्त राजीनामा गरेर नैतिकता प्रदर्शन गर्नु सहि बाटो हुन्छ । अहिले चुनाव हारेर पनि मन्त्री भइरहेकाहरुले किन राजीनामा दिएका छैनन् भनेर आम रुपमा प्रश्न उठिरहेको छ ।
पराजित भएपछि पनि मन्त्रीकै हैसियतमा काम गर्नु अवैध !
संविधानका एक ज्ञाताका अनुसार अहिलेको सरकार काम चलाउ हो । तर, निर्वाचन हारेपछि पनि अनैतिक रुपमा मन्त्रालयको नियमित गतिविधिमा सरिक हुनु अवैध रहेको ती ज्ञाताको भनाई छ । ‘निर्वाचन घोषणा भएसँगै उनीहरुको सांसद पद गएको हो । तर, निर्वाचन लड्दा सम्म मन्त्रीको सेवा सुविधा दुरुपयोग गरे । फेरी पराजित भएपछि पनि मन्त्रीकै हैसियतमा रहनु भनेको त अवैध हो,’ ती अधिवक्ता भन्छन्,‘उनीहरुले गर्ने हरेक निर्णयमा अख्तियार लाग्नुपर्ने हुन्छ । कानुनले समेत बर्जित गरेको गतिविधि गर्न पाइँदैन नी ।’
प्रधानमन्त्री कार्यालयको वेभसाइटमा हरुवा मन्त्रीकै नाम
निर्वाचनमा पराजित भएका सबै मन्त्रीहरुको नाममा प्रधानमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयको ओपिएमसी डट जिओभि डट एनपीमा सबै निर्वाच हारेका मन्त्रीहरुको नाम उल्लेख छ ।