कतारमा ‘अन कल क्लिनर’ काम गर्ने नेपाली महिला शोषणमा

कतामा रहेका १५ हजार महिला श्रमिक अधिकांश क्लिनर भिसामै

दियो पोस्ट  

काठमाडौं । कतारमा क्लिनर भिसामा जाने नेपाली महिला श्रमिक विभिन्न खालका शोषणमा पर्ने गरेका छन् । नेपालका म्यानपावर कम्पनीले क्लिनर भिसामा पठाए पनि कतारका एजेन्टले आप्रवासी महिला श्रमिकलाई ‘अन कल क्लिनर’को काममा पठाउन थालेका छन् ।

‘अन कल क्लिनर ’मा श्रमिकले व्यक्तिको घरमा नै गएर सरसफाइको काम गर्नुपर्छ । घरमालिकको इच्छाबमोजिम निश्चित समयका लागि श्रमिक हायर गरिएको हुन्छ । कतिपय गलत नियत भएका व्यक्तिले सरसफाइको काम भनेर महिला श्रमिक हायर गर्न खोजेको पनि देखिएको नेपाली संघ कतारको प्रथम उपाध्यक्ष कृष्ण पन्थीले जानकारी दिए ।

नेपाली श्रमिकलाई कतार लगायत मध्पूर्वमा रोजगारीका लागि जान क्लिनर भिसामा कुनै सीप र दक्षता नचाहिने हुँदा नेपाली महिला र पुरुष श्रमिक यस्तो भिसामा कतार आइपुग्ने गरेका छन् । जसमध्ये महिला श्रमिक भने जोखिममा पर्ने गरेको उनले बताए । कतारले क्लिनर र घरेलु श्रमिकका रुपमा आप्रवासी कामदार भित्र्याउँदै आएको छ । तर, नेपालले भने घरेलु श्रमिक भिसालाई बन्द गरेको छ । जसका कारण अधिकांश नेपाली महिला श्रमिक क्लिनर भिसामा कतार आउने गरेका छन् ।

कतार सरकारले सरकारी, अर्धसरकारी निकायहरुजस्तै विद्यालय, हस्पिटल, बालबालिका स्याहार केन्द्र, सपिङ मललगायतका स्थान सरसफाइका लागि क्लिनर भिसामा आप्रवासी श्रमिक भित्र्याउने गरेको छ । नेपालबाट यस्ता कामका लागि महिला श्रमिक आए पनि कतारस्थित एजेन्टले ‘अन कल क्लिनर’ मार्फत निजी घरको सरसफाइको काममा खटाउने गरेको संघका प्रथम उपाध्यक्ष पन्थीले बताए । ‘अस्पताल, मललगायतका क्षेत्रका काम गर्ने भनेर महिला श्रमिकलाई कतार ल्याइन्छ । तर, यहाँ आएपछि निजी घरको सरसफाइमा पठाउने गरेका छन्,’ उनले भने । निजी निवासमा नै पुगेर काम गर्नुपर्दा महिला जोखिममा परेको उनको भनाइ छ ।

आजको नयाँँ पत्रिकामा खबर छ ।