भूकम्पमा परी अपाङ्गता भएकाको मागः हामीलाई प्राथमिकता दिइयोस्

दियो पोस्ट  

सुर्खेत । रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन छन् । हिँड्डुल गर्न उनलाई अरूको सहायता चाहिन्छ । उनको श्रीमती पनि शारीरिक अपाङ्गता छन् । गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गरेका भरतको घर यही कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त बनायो । घर भत्के पनि धन्नले ज्यान जोगाउन सफल भएका उनका दम्पति अहिले राहातको पर्खाइमा छन् ।

सरकारले राहत वितरण त सुरु गरे पनि उनीहरुले राहतको नाममा एउटा त्रिपाल मात्रै पाएका छन् । “घरमा खाने अन्न पनि छैन । घर पनि भूकम्पले ध्वस्त बनायो । आफैँ अपाङ्ग छौँ,” भरत दुखेसो पोर्खेका, “सरकारले यस्तो बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु जो भूकम्पपीडित भएका छौँ, उनीहरुलाई पहिलो प्राथमिकता राखेर राहत दिनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।”

“हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको र भूकम्पका कारण अझै पीडित बन्नुपरेको छ ”, उनी भन्छन्, “अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । अझै यो भूकम्पका कारण पीडित बनेका हामीजस्ता अन्य व्यक्ति पहुँच नपुगेरै त होला राहत पाउन सकेका छैनन् ।”

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ कल्लेरीका डिलसरा बोहोरा खड्काको पनि शारीरिक त्यस्तै छ । राम्रोसँग हिँड्डुल गर्न नसक्ने उनको घर पनि भूकम्पले भत्कायो । घर भत्किने बेलामा घरमाथिबाट बाँच्ने आसले श्रीमान श्रीमती नै हाम फाल्दा श्रीमान् सामान्य घाइते भए । उनको ढाडमा चोट लागेको छ । छिनभरमै घरबारविहीन बनेकी डिलसराको परिवार अहिले खुल्ला आकासमुनि बस्दै आएको छ । अहिलेसम्म सहयोगका लागि कोही पनि नआएकाले वडाध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरिरहे उनले पनि राहत पाएको छैन ।

“म खुट्टाले हिँड्न नसक्ने मान्छे भूकम्पमा परी धन्नले बाँचे । घर भत्कियो, अहिलेसम्म के कति क्षति भयो भनेर कसैले वास्ता नगरेपछि वडाध्यक्षलाई राहतको लागि पहल गरिदिन फोन गरिरहेको छु ।” उनको बिलौना छ, सबैभन्दा पहिले भूकम्पले हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु के कति छन् खोज्नुपर्‍यो अनि सरकारले पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्छ ।”

जाजरकोट भेरी नगरपालिका–३ का लोकेन्द्र कार्की हेमोफिलियासम्बन्धी अपाङ्गता छन् । उनी कात्तिक १७ गते टिभी हेर्दै थिए । भूकम्प आएपछि घरको छतले उनी पुरिए । धेरै पटक बोलाउँदा पनि कसैले सुनेनन् तर धेरै समयपछि लोकेन्द्रको उद्धार भयो । घाइते भएका उनी अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहेका छन् । लोकेन्द्रको परिवार पनि अहिले घरबारविहीन भएको छ । जिल्ला सदरमुकाम भएको हुँदा उनीले केही रुपमा राहत त पाइरहे पनि अपाङ्गता भएका अन्य व्यक्तिहरु भूकम्पको चपेटामा परे पनि अहिलेसम्म राहत पाएका छैनन् ।

“सरकारले यस्तो विपद्को बेलामा हामीजस्ता अपाङ्गता व्यक्तिहरुलाई ध्यान दिनुपर्छ । उनीहरु यस्तो बेलामा धेरै पीडामा परेका हुन्छन् । राहत सामग्री पनि पहिलो प्राथमिकतामा राखेर दिनुपर्छ तर त्यसो भएको देखिँदैन । कति अपाङ्गता भएका व्यक्तिहरु अहिले झन पीडित छन् त्यसको यकिन डाटा पनि सङ्कलन भएको छैन,” लोकेन्द्र भन्छन् ।

विपद्को बेला सबैभन्दा समस्या र जोखिममा अपाङ्गता भएका व्यक्तिहरु पर्दै आएका छन् । पहुँचयुक्त संरचना नहुँदा उनीहरु समस्यामा पर्दै आएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता विपद्का घटनामा अपाङ्गता भएका व्यक्तिहरु झनै जोखिममा हुन्छन् । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुनःस्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकाल भूकम्पमा परी कति अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन् भनेर डाटा पनि सङ्कलन नगरिएको बताउछन् । उनी भन्छन्, “भूकम्पले कति जनधनको क्षति गर्‍यो यस्तो बेलामा अपाङ्गता भएका व्यक्तिहरु अझै कति पीडित छन् तर सरकारले कति व्यक्ति घाइते भए, कति अपाङ्गता भएका व्यक्तिहरु घरबारविहीन भए भनेर कुनै तथ्याङ्क ल्याएको छैन, यो दुःखद हो । सबै व्यक्तिलाई एउटै डालोमा हालेर राहत र पुनःस्थापनाको काम गर्दा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसक्ने चिन्ता रहेको छ ।”

सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुनःस्थापनाको काम गरिने बताउँदै आएको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अपाङ्गता भएका तीन व्यक्ति घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको जम्मा जनसङ्ख्याको पाँच र रुकुम पश्चिममा चार प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ ।