सेवाग्राहीमाथि बसपार्कका ईन्सपेक्टर दिनेश गुरुङ्गद्वारा निर्घात कुटपीट (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख ईन्सपेक्टर दिनेश गुरुङ्गले कार्यालयमा आएका सेवाग्राहीमाथि निर्घात कुटपीट गरेको आरोप लागेको छ । बानियाँटार बस्ने कर्ण बहादुर अधिकारीमाथि गत असोज १६ गते कार्यालयमै निर्घात कुटपीट गरेको आरोप छ ।

पीडित घाइते अधिकारीका पत्नि र मुकुन्द थपलियाबीच लेनदेन थियो । थपलियाबाट उनका पत्निले ३ लाख ३० हजार पाउनुपर्ने थियो । सोही पैसा उठाउने विषयमा विवाद हुँदा पीडित अधिकारीकी पत्निले थपलियासँग पैसा माग्ने क्रममा भनाभन भएको थियो । पैसा तिर्नुको सट्टा थपलियाले प्रहरी प्रभाव बसपार्कमा धाकधम्की र शान्ति सुरक्षाको निवेदन थिएका थिए । जबकी यो निवेदन प्रहरीले सोझै लिन मिल्दैन । थपलियाले शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमा दिनुपर्ने हो । तर, प्रशासन कार्यालयलाई बाइपास गरेर ईन्सपेक्टर गुरुङ्गले सोझै निवेदन लिएर छलफलका लागि भन्दै अधिकारी दम्पतीलाई कार्यालयमा बोलाएका थिए ।

प्रहरीले बोलाएपछि गत असोज १६ गते उनीहरु प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालयमा पुगेका उनीहरु एक घण्टासम्म कुरेपनि निवेदक भनिएका थपलिया आएनन् । ‘हाम्रो पैसा खाने उल्टै हामीलाई कार्यालयमा बोलाएर उ भने आउन ईन्कार गरेपछि मैले फोन गरेर तुरुन्त छलफल गर्न बोलाएँ । त्यो क्रममा भनाभन पनि भयो,’ पीडित अधिकारीले दियोपोस्टसँग भने,‘थपिलया र मेरोबीचको भनाभन सुनेर ईन्सपेक्टर गुरुङ्गले करिब १ बजेतिर हरियो प्लास्टिकको पाइपले निरन्तर मेरो पिडुलामा प्रहार गर्न थाल्नु भयो । मेरो आँखाबाट आँसु झर्दा पनि उहाँले प्रहार गर्न छाड्नु भएन । त्यसबीचमा मेरो श्रीमतीले माफी मागिन् । तर, ममाथि आक्रमण रोकिएन । एक जना प्रहरीले समाउने र ईन्सपेक्टर गुरुङ्गले पाइपले प्रहार गरिरहनु भयो ।’

उनका अनुसार त्यसपछि गुरुङ्गले यसलाई भित्र हाल्दे भन्दै हिरासतमा राखेका थिए । त्यतिबेला नै श्रीमतीको याचनाको आधारमा आफू छुटेको उनको भनाई छ । पानीको जार बोक्ने गाडी चलाउँदै आएका अधिकारी घर गएपछि एक्कासी भोमिट हुने र चक्कर लाग्ने भएपछि अस्पताल गएका थिए ।
बसुन्धारास्थित विपी स्मृति सामुदायीक सहकारी अस्पतालमा दुई दिन भर्ना भएपछि उनी डिस्चार्ज भएका छन् । यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले उजुरी समेत दिएका छन् । प्रहरीले घाउ जाँच फारम भरेर अनुसन्धान थालेको छ ।

यस विषयमा प्रतिक्रिया लिन प्रहरी निरिक्षक गुरुङ्गलाई सम्पर्क गर्दा प्रहरीले नियमित प्रक्रिया अन्तर्गत गतिविधि गरेको भन्दै घटनाबारे प्रतिक्रिया दिन इन्कार गरे । आफूमाथि छानबीन चलिरहेको उनको भनाई छ ।

भिडियाे हेर्नुहाेस्