इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, हप्ताभित्रै फैसला सुनाउने

४५ वर्ष कैद सजायकाे माग दाबी

दियो पोस्ट  

काठमाडौं । इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ ।

जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो।

सुरुमा पीडितका तर्फबाट बहस भएको थियो। मंगलबार सरकारी पक्षले पनि बहस थालेको छ। वुधबार सरकारी पक्षको बहस सकिने जनाइएको छ। सरकारी पक्षको बहस सकिए जवाफी बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ।

जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको र सबैको बहस सकिएपछि यही हप्ताभित्र फैसला सुनाउने तयारी रहेको बताए।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो। त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको कर्तब्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ।

आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराइ घाइते बनाएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ।