बागमतीमै ५६ प्रतिशत किसानलाई पुग्दैन कृषिबाट खान

दियो पोस्ट  

काठमाडौं । बागमती प्रदेशमा ५५.९ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५.९ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो।

कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४.१ प्रतिशत मात्र छन्। नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

बागमतीमा ७२.६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार पुराना प्रविधि हराउँदै गएको छ।

फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ। १४.८ प्रतिशत फलामे हलो, ३०.८ प्रतिशत ट्याक्टर र १६.७ प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको छ ।

तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाएको देखिन्छ। यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेकामा ६ लाख ६८ हजार एक सय ७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार दुई सय ९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको स्रोतले बतायो ।

सिफारिस