काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ।
सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ।
यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्धा आज घिमिरेको इजलासमा पाचौं नम्बरमा छ।
असोज महिनामा तीन पटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो। असोज १ गते, असोज ७ गते र असोज २५ गते सुनुवाइ स्थगित भएको थियो। अदालत प्रशासनले तीन पटक नै न्यायाधीश अभावलाई कारण बनाएको छ।
जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो। त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन्।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।