काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका विषयमा छलफलका लागि बृहत् बैठक बोलाएका छन्।
मंसिर ४ गते, सोमबारका लागि सरोकारवाला पक्षको बृहत् बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन्। शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त विषयबारे जानकारी दिएका हुन्।
आफूले सरकारको नेतृत्व गर्दाको भन्दा अहिले अर्थतन्त्रमा सुधार आए पनि दबाब मुक्त भइनसकेको भन्दै सुधारका लागि आवश्यक सुझाव लिन बृहत् बैठक बोलाइएको बताए। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याइने प्रधानमन्त्रीको भनाइ छ।
‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाब मुक्त भइसकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।’