काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आसेपासेलाई विदेश सयर गराउने प्रयास गरेका छन् ।
केही दिनअघि मात्रै रारा विमानस्थलमा करङ भाँचिएको गम्भीर विरामीलाई अलपत्र छाडेको विपयले विवादमा तानिएका मन्त्री शाही अहिले फेरि अर्को विवादित प्रयास गरेका हुन् ।
उनले वन मन्त्रालयको जम्बो टोलीलाई कोप सम्मेलको नाममा विदेश सयर गराउन खोज्दै छन् भने त्यसका लागि स्पोन्सरको खोजीसमेत सुरु गरेका छन् ।
भ्रमणको नाममा कोही कसैले आर्थिक सहयोग गरिहाल्छ कि भन्ने आशमा स्पोन्सर खोज्न उनले मान्छे खटाईसकेका छन् । जुन टोलीमा उनले लेखादेखि स्टोर शाखासम्मका कर्मचारी र छोरासमेतलाई राखेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसीसीसी का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन कोप २९ मा वन तथा वातावरण मन्त्रालयको जम्बो टोली सहभागी हुने भएको हो । जलवायु विज्ञलाई पठाउनुपर्ने सम्मेलनमा मन्त्रालयले आफ्नै २६ जना कर्मचारीको अजरबैजानको बाकु उडाउन लागेको हो ।
कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते सम्म बाकुमा हुँदैछ । मन्त्रालय स्रोतका अनुसार सहसचिव सिन्धु ढुंगानासहितको एक टोली मंगलबार बाकु पुगिसकेको छ । टोलीका बाँकी सदस्य केही दिनमा उड्ने तयारीमा छन्।
मंगलबारसम्म २६ जना कर्मचारीको नाम रजिष्ट्रेसन भएको छ । ती सबैलाई बाकु पठाउनका लागि सचिव दिपक खराल, सहसचिव वुद्धि पौडेलले विभिन्न विकास साझेदार संस्थाहरुलाई प्रायोजनका लागि दवाव दिएको स्रोतको दावी छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले र सचिव खरालको समझदारीमा कर्मचारी छनौट भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटबाट आएका केही नाम समेत त्यसमा परेको स्रोत बताउँछ ।
उनै वनमन्त्री शाही ४ दिनअघि मात्रै कम्बोडिया गएर फर्किएका थिए । मन्त्रालय मातहतका कामहरुमा ध्यान दिने भन्दापनि उनी विभिन्न देशको सयर गर्नमै समय विताईरहेको भन्दै उनको चर्को आलोचना हुँदै आइरहेको छ ।