
काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसमेतलाई ‘मानव तस्कर’ बनाउने गिरोहका मूख्य नाईके धादिङका महेश पाण्डे रहेको खुलेको छ । मन्त्री अधिकारीलाईसमेत आर्थिक प्रलोभनमा पारेर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का पाण्डेले गिरोहको नेतृत्व गरेको अनुसन्धानको क्रममा खुलेको हो ।
पाण्डेले उच्च राजनीतिक पहुँचसम्म पुगेर यसअघि पनि विभिन्न देशमा मानिस पठाउँदै आईरहेको विषयसमेत बाहिरिएको छ । उनी निकट स्रोतका अनुसार उनले आफ्नो स्वार्थ पुरा गर्नका लागि जुनसुकै पार्टीका नेताहरुसँग ठिकठाक भईदिन सक्छन् ।
सर्वसाधारणसँग मोटो रकम लिएर उनले शक्तिकेन्द्रको संरक्षणमा अमेरिका, जापान लगायत देशमा मान्छे पठाउने काम गर्दै आएको विषय खुल्दै गएको हो । यसबारे थप अनुसन्धानपछि अरु विषय बाहिर आउने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार यो गिरोहले केही युवालाई जापान पठाउनका लागि आवश्यक कागजातहरुसमेत बागबजारमा बनाएका थिए । अनुसन्धानका क्रममा पक्राउ परेका धादिङ घर भएका पाण्डेले नै यो तथ्य खुलाएका छन् । अधिकारीसँग गएका तीनै जनाले प्रहरीसँगको बयानमा महेश पाण्डेलाई १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको खुलाएका छन् । उक्त रकम पाण्डेमार्फत अरू व्यक्तिले बाँडेर लगेको पनि अनुसन्धानबाट खुलेको छ ।
विभिन्न व्यक्ति हुँदै मन्त्री अधिकारीको गोजीमा कति रकम पुग्यो भन्ने विषय बाहिरिन बाँकी नै छ । तर उनै महेश पाण्डेले उठाएको रकम तत्कालिन मन्त्री अधिकारीको गोजीसम्म नै पुगेको आरोप लागिरहेको छ ।
यसबीचमा पाण्डेले कात्तिक १३ गते राति अधिकारीलाई त्रिभुवन विमानस्थल आसपासको कफी सपमा भेटेको तस्बिरसमेत सार्वजनिक भएको छ । त्यति बेला मन्त्रीका चिनारु तथा उनको जापान यात्राको मेसो मिलाउने मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतम पनि पाण्डेसँगै थिए ।
अधिकारीसहित चार जनाका लागि जापानको टोकियोस्थित एक होटलमा कोठा ‘बुक’समेत गरिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार मन्त्री अधिकारी तयारीका साथ नै जापान गएको देखिन्छ ।
तत्कालीन मन्त्री अधिकारीको टोलीमा सहभागी तीन जनाले मानव तस्करको योजनामा नक्कली कागजात बनाई रकम बुझाएको स्वीकारेका छन् । मानव तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । प्रदेशका मन्त्री पनि विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने नियम छ । तत्कालीन मन्त्री अधिकारी भने प्रदेश सरकारबाट पनि निर्णय नै नगराई कात्तिक १३ मा जापान उडेका थिए ।
आट्र्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी बन्न भनेर अधिकारीसहितको टोली जापान उडेको थियो । अधिकारीले काठमाडौंबाट पनि आफू एक्लै उडेको दाबी गरेका छन् । उनको उडानमा हङकङ ट्रान्जिट थियो ।

जापानको अध्यागमनले प्रवेश अनुमति नै नदिई फर्काएपछि मानव तस्करीमा तत्कालीन मन्त्री अधिकारी प्रयोग भएको खुलेको हो । अधिकारी भने मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन् । तर सार्वजनिक भएका केही तस्बिरले भने आर्थिक प्रलोभनमा परेर तत्कालीन मन्त्री अधिकारीसमेत मानव तस्करको गिरोहसँग मिलेमतोमा रहेको आशंका गरिएको छ । जुन गिरोहको नेतृत्व धादिङका पाण्डेले गरेका थिए भने उनैले युवाहरुसँग पैसासमेत उठाएका थिए ।