
काठमाडौं । ‘मानव तस्कर’ प्रकरणमा जोडिएका कोसी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई पक्राउ गरेर पक्राउ परेका उनलाई अहिले विराटनगरबाट काठमाडौं ल्याउने तयारी भएको छ
अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै डिपोट भएपछि नेपाल फिर्ता भएका थिए ।
प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।
उनीसँगै तीन जना् मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।
उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले पनि शनिबार पार्टीबाट निलम्बन गरिसकेको छ । एमाले कोशी प्रदेश कमिटीले शनिबार उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको संगठित सदस्यताबाट समेत निलम्बन गरेको हो ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले मानव तस्करीको गम्भीर आरोपको अन्तिम निरुपण नभएसम्मका लागि मोरङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जनाएका छन् । अधिकारीविरुद्ध प्रहरीले पनि मानव तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।