काठमाडौं । विराटनगरस्थित डेराबाटै पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । मानव तस्करी घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।
जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको छ । आइतबार आफैँ प्रहरीसमक्ष उपस्थित हुने तयारीमा रहेका उनलाई प्रहरीले विराटनगरस्थित डेराबाटै नियन्त्रणमा लिएको हो ।
अधिकारीसँगै जापान पुगेका तीन जना र अन्य तीन जना अहिले प्रहरी हिरासतमा छन् ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ। अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।
तर त्यहाँको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।
अनुमति नै नलिई जापान भ्रमणमा निस्केपछि उनले मन्त्रीबाट समेत राजीनामा दिनुपरेको थियो ।