काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाइँले आगामी फागुन २१ गतेको निर्वाचन भाड्ने प्रयोजनका लागि मधेशमा पैसा समेत पाठाएको खुलेको छ ।
गत माघ २४ गते अभियानले वीरगञ्जले निर्वाचन बहिस्कार सभा आयोजना गरेको थियो सोही सभालाई लक्षित गरेर वीरगन्जकै उनका एक कार्यकर्ताको नाममा प्रसाइँले आफ्नो सचिवालय मार्फत २ लाख रुपैयाँ पठाएको भौचर भेटिएको हो । निर्वाचन भाँड्ने गतिविधिमा लागेको अभियोगमा पक्राउ परेका प्रसाइँ यतिबेला प्रहरीको हिरासतमा छन् । उनी हिरासतमै भएको बेला दियोपोस्टले यो भौचर फेला पारेको हो ।
भौचरमा उनको स्वकिय सचिव दिपक खड्काको नाम रकम जम्माकर्ताको रुपमा उल्लेख छ । तर, नम्बर भने झापास्थित बिएन्डसी अस्पतालको कर्मचारीको राखिएको छ । जम्मा गर्नुको उद्देश्यमा सापटी फिर्ता लेखिएको छ । उल्लेखित नम्बरमा सम्पर्क गर्दा आफूलाई ‘जे आदेश आयो त्यही गरेको’ बताए । ‘म काम गर्ने मान्छे हो । तर, म दिपक खड्का होइन । हामीलाई जसरी जम्मा गर्नु भन्नु भएको छ त्यसरी जम्मा गरेको हुन्छौँ । हामीलाई बाँकी कुरा थाहा हुँदैन,’ उनले भने ।

बीरगन्जस्थित लक्ष्मी सनराइज बैंकको खातामा जसको खाता प्रयोग भएको छ ती व्यक्ति पनि दुर्गा प्रसाइँको समुहसँग समेत असम्बन्धित रहेको पाइएको छ । ‘खाता मात्रै उहाँको प्रयोग भएको हो,’ दुर्गा समुहकै एक सदस्यले दियोपोस्टसँग भने,‘वीरगन्जमा हुन लागेको विशाल कार्यक्रम तयारीका लागि यो रकम पठाइएको हो । तर, सफल हुन सकेन ।’
गत माघ ५ गते उनी पोखराबाट पक्राउ परेका थिए । पक्राउ परेर रिहा भएलगत्तै नेपाली कांग्रेसका नेता पुर्ण बहादुर खड्कासँग रहस्यमयी रुपमा भेट्न पुगेका थिए । त्यस्तै माघ १२ गते उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नि आरजु राणासँग समेत भेटेका थिए । भेटमा उनले निर्वाचन भाँड्का लागि आर्थिक सहयोग मागेको समेत खुलेको छ । उनीहरु भेट भएको तस्विर दियोपोस्टले खुलाशा गरेको थियो । तर, प्रसाइँले भने राणा मन्त्री भएकै समयमा भेट भएको भन्दै टालटुले जवाफ दिइरहेका छन् । भेटघाटको विषयमा विषयमा खड्का र राणा दुवैले मुख खोलेका छैनन् ।
निर्वाचन भाड्ने अभिव्यक्ति दिँदै आएका प्रसाइँले गत पुस ७ गते उक्त रकम पठाएको पाइएको हो । वीरगन्जमा निर्वाचन भाँड्नका लागि छिमेकी मुलुक भारतबाट समेत केही व्यक्ति ल्याउने जिम्मा पाएका व्यक्तिहरुलाई रकम पठाइएको बुझिएको छ । रकम एक जनाको मात्रै होइन विभिन्न व्यक्तिहरुको खातामा पठाउने कार्य समेत भएको प्रसाइँ समुहकै ती सदस्यले दियोपोस्टलाई बताए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाइँले मुलुका राजा ल्याउने वकालत गर्दै आएका छन् ।