निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ । सोमबार रातीदेखि निर्वाचनको ‘मौन’ अवधि समेत सुरु भइसकेको छ । तर, राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको सवालमा हामी ‘मौन’ रहन सक्दैनौँ । किनकी यो निर्वाचन देशलाई प्रयोगशाला बन्नबाट जोगाउने ऐतिहासिक अवसर हो । त्यसैले पनि यो निर्वाचन आफैमा ऐतिहासिक छ ।
सुधीर शर्माको ‘प्रयोगशाला’ पुस्तक पढ्दा स्पष्ट हुन्छ-नेपाल बारम्बार भूराजनीतिक स्वार्थको चपेटामा परेको छ र विभिन्न शक्तिहरूको ‘प्रयोगशाला’ बन्न बाध्य भएको छ । बाह्य शक्तिहरूले नेपालमा नियन्त्रित अस्थिरता कायम राख्दै आफ्ना स्वार्थ अनुकूल सरकार निर्माण गर्ने प्रयास गर्नु नयाँ विषय होइन । तर दुःखद पक्ष के छ भने, राजनीतिक दलहरू मात्र होइन, जनताले पनि जान-अन्जानमा देशलाई प्रयोगशाला बनाइरहेका छन् । यसै कारणले आगामी निर्वाचनलाई देशलाई प्रयोगशाला बन्नबाट जोगाउने ऐतिहासिक अवसरका रूपमा लिनु आवश्यक छ ।
प्रयोगशाला र अस्थिरताको दुश्चक्रः
आधुनिक नेपालको राजनीतिक इतिहास नियाल्दा देश विभिन्न कालखण्डमा विभिन्न शक्तिहरूको प्रभावमा परेको देखिन्छ-कहिले राणाशासन, कहिले राजतन्त्र, कहिले छिमेकी वा पश्चिमी शक्तिहरूको प्रभाव। यस्तो निरन्तर हस्तक्षेप र अस्थिरताले अपेक्षित विकास सम्भव हुन सकेन। यदि नेपाल स्थिर र स्वायत्त राजनीतिक दिशामा अघि बढ्न सकेको भए विकासको गति भिन्न हुन सक्थ्यो।
अव्राहम लिंकनले प्रधानाध्यापकलाई चिठी लेख्दै भनेका थिए- ‘मेरो छोरो भिडको पछाडि दौडिने नहोस, ठीक वेठीक छुटउन सक्ने र आवश्यक परेमा भिडको विरुद्ध एक्लै पनि उठिन सक्ने बनोस ।’ उनका यस्तै गहन विचार, प्रजातन्त्रका लागि उनले अगाडि सारेका विचारका कारण अमेरिका सधै परिपक्क लोकतन्त्रमा अगाडि बढेको छ र लिंकनका लोकतन्त्र सम्वन्धि विचारलाई विश्वभरिनै मानिन्छ ।
तर, नेपालको राजनीतिक इतिहासलाई विश्लेषण गर्दा सधै नेपालीहरु भिडको पछाडि दौडेको पाइन्छ । कागले कान लग्यो भनेर कागको पछाडि दौडिने, जता काफल पाक्छ उतै नाच्ने चरी जस्तै भएर नेपालीले जुग बिताएका छन् ।
कैयौँ नेपालीहरु सत्य-असत्य, ठीक-वेठीक, कुन हावादारी विषय हो त्यसको पहिचान नगरी हल्लाको पछि लाग्दै आएका छन् । नेपाल हल्लै हल्लाको देश भएको छ । गणेशमान सिंहले एक समयमा भनेका थिए, ‘जनता भेँडा हुन ।’ उनले नेपाली जनतालाई ‘भेँडा’ त्यसै भनेका होइनन ।
त्यसो त, आइक्यू सूचकांकमा नेपाल सबैैभन्दा पछि पर्नुको कारण पनि यही नै हो । सत्य तथ्य नहेरी हल्लाको पछि लाग्दा देश प्रयोगशाला बन्ने, अस्थिरताको भूँमरीमा फस्ने खतरा छ ।
नयाँ र पुरानाका नाममा देशलाई पूनः प्रयोगशाला बनाइदैः
के जन्मिन साथ बच्चाले सवै गर्छ ? डाक्टर, इन्जिनियर, पाइलट, वकिल, पत्रकार लेखक सबैै अनुभवी चाहिने, जागिरका बेला पुरानो र अनुभवि चाहिने तर, देशको कार्यकारी ठाउँमा पुग्ने, नीति निर्माण तथा कार्यन्वयन गर्ने ठाउँमा पुग्ने मानिसहरु अनुभवी हुनु पर्दैन ? राजनीति, कुटनीति, समाजको अध्ययन, भूराजनीति, बिकासको रोडम्यापका बारेमा जानकार त हुनै पर्ने होला नि ।
न्यूनतम यी गुण पनि नभएका तर सामाजिक सञ्जालमा लोकप्रिय भएका भरमा नेता बन्ने र देश चलाउने योग्यता मान्ने हो यो गलत हो । देश, समाजको परिवर्तन र रुपान्तरणका लागि गरेको योगदान, अनुभवका आधारमा नेतालाई चयन गर्ने र उसलाई जिम्मा दिने विषय हो । तर, यस्तो हल्ला चलाईएको छ कि नयाँहरुनै परिवर्तनका वाहक हुन । पुराना यथास्थितिवादी हुन ।
यो देशमा गर्न सक्ने र मिल्ने सम्मका परिवर्तन यस अगाडिका दलहरुले गरिसकेका छन । सामाजिक सञ्जालमा पुराना दल र नेताप्रति चरम घृणा फैलाउने, ‘मिस इन्फरमेसन’ र ‘डिस इन्फरमेसन’ सहितका भ्रामक सुचनाहरु फैलाएर राजनीतिलाई खेलौना जस्तो बनाउने काम भएको छ ।
यस्तो बेला आम नेपाली नागरिकहरुले विवेकको मत प्रयोग गर्नैपर्ने आवश्यकता छ । भीडको पछाडि दौडिदा ठूलो दुर्घटनामा पुगिन्छ । अव्राहम लिंकनले भनेजस्तै भीडको पछि होइन, आवश्यक परे एक्लै पनि उभिन सक्नुपर्छ ।
अहिलेको नेपालको समग्र समाज र राजनीतिको विश्लेषण गर्दा देश गम्भीर जोखिममा छ । यसैले नागरिकहरु हल्लाका भरमा, पपुलिस्ट राजनीति गर्ने, अराजकताका पुजारी, सामाजिक सञ्जालमा हिरो भएका नाममा उनीहरुका पछाडि लाग्ने दुष्प्रयास गर्नुहुँदैन ।
के देश प्रयोगशाला बनाउने वस्तु हो ?
होइन, देश प्रयोगशाला बनाउने वस्तु होइन । तर, नेपाललाई बारम्बार प्रयोगशाला बनाउने खेल भैरहेको छ । देशलाई प्रयोगशाला बनाएर कहिले सम्म नेपाल र नेपालीको भाग्य र भविष्यमाथि खेलवाड गरिरहने? यी प्रश्नको जवाफ खोज्नुभन्दा अगाडि केही अगाडि रहस्यमय रुपमा नेपालमा सम्पन्न भएको जेन-जी आन्दोलनका केही पाटाहरुलाई हेर्नुपर्छ ।
जेन-जी आन्दोलन लामो योजना र तयारीका साथ कलिला बालबालिका र युवालाई प्रयोग गरेर देशमा विध्वंस मच्चाउने, संविधान, कानुन र विधिको शासनमाथि आक्रमण गर्ने र नेपालमा नियन्त्रित अस्थिरता कायम गर्ने गरी भएको विभिन्न अध्ययनले देखाएको छ ।
न्यूयोर्क टाईमको रिपोर्ट देखि कान्तिपुरले तयार गरेको रिपोर्टले जेन-जी आन्दोलन योजनावद्द भएको बताउँछ । यो देशमा कहिले राजाहरुले निर्दलीय व्यवस्था लादे, देश विकासका नाममा । राजा बिरेन्द्रको वंशनास पछि राजा बनेका ज्ञानेन्द्रले समेत दलहरुलाई वाइपास गरेर दलविहिन व्यवस्था शुरु गरी देशलाई प्रयोगशाला बनाए ।
यसै गरी कांग्रेसले प्रजातान्त्रिक समाजवादका नाममा र कम्युनिष्टहरुले समाजवाद र साम्यवादका नाममा देशलाई एक हिसावले प्रयोगशाला बनाए । २०२८ सालमा भएको झापा बिद्रोह र २०५२ मा भएको सशस्त्र युद्दलाई हेर्दा पनि जनताका नाममा देशलाई प्रयोगशाला बनाउन खोजेको देखिन्छ ।
पछिल्लो समय पहिचानवादी, बिखण्डनवादी, राजावादी र राष्टवादीहरुले विभिन्न हिसाबले देशलाई प्रयोगशाला बनाइरहे । तर, उनीहरुका विचार र सिद्धान्तले देशलाई निकास भने दिन सकेन । दलहरुले मात्र देशलाई प्रयोगशाला बनाएनन, स्वयम जनताले नै देशलाई प्रयोगशाला बनाए । उनीहरुले एउटा शक्तिलाई विस्वास नगरी कुनै बेला कसलाई हेर्ने र कुनै बेला कस्लाई हेर्ने भनि पार्टी र मत फेर्दै जाँदा देश प्रयोगशाला जस्तै बन्यो ।
यसरी विदेशी शक्ति, राजनीतिक दलहरु र जनता स्वयंले देशलाई प्रयोगशाला बनाइरहँदा देश दशकौँ पछि पर्ने र जनताले दुख पाइरहने दुश्चक्र चलिरहयो । अहिले जेन–जी आन्दोलन पश्चात हुन लागेको आकस्मिक चुनावले पनि देशलाई निकास दिने भन्दा पनि अर्को चरणको प्रयोगशाला बनाउने देखिन्छ । यस हिसाबले यस चुनावमा जनता सजग र सचेत भई विवेकको मत प्रयोग गर्न सक्नुपर्छ ।
नयाँ दल अविश्वसनीय यात्रा:
आफ्ना बच्चासँग ठूलो अपेक्षा र सपना हुनु स्वभाविक होे । तर, भरखर जन्मेको बच्चालाई कारको चालक बनाउन, पाइलट बनाउन र डाक्टर बनाउन सकिदैन । जतिसुकै ठूलो सपना भए पनि निश्चित उमेर, ज्ञान, सीप, अनुभव र परिपक्वता नभएसम्म माथिका कुनै काम गर्न पनि मानिस सफल हुँदैन ।
राजनीतिक दल खोलेर देश र जनताको सेवा गर्ने विषय पनि यो भन्दा फरक हुन सक्दैन । एउटा दलले स्थापना हुन साथ विभिन्न समस्यामा फसेको देशका सबै समस्या जादुको छडीले जस्तै कसरी समाधान गर्न सक्छ ? यति कुरा पनि नबुझेर अपेक्षा र सपना देख्नु दलहरु र नेताको भन्दा पनि जनताको कमजोरी हो ।
२०६२/०६३ को जनआन्दोलन पछि माओवादी, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम, तमलोपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्टिय स्वतन्त्र पार्टी आदिको चर्चा र जनताको विश्वास ठूलो थियो । यी दलले निकै लोकप्रीय नारा दिए । तर, देश र जनताप्रति ठूलो आशा देखाएर आफ्नो स्वार्थ पुरा गर्न लागे । तर, अहिले असान्दर्भिक र अस्तित्व विहिन बन्दै अस्तित्वको रक्षामा लागेको देखिन्छ ।
रास्वपा जस्ता दलहरुले पनि सबै कोणबाट औचित्य गुमाएको देखिन्छ । अहिले पनि नयाँ दल र पुराना दल भन्ने कृतिम भाष्य खडा गरेर, जनताको चेनताको कमजोरीमा भावनात्मक खेलवाड गरेर कतिपय दल र नेताहरुले देशलाई भीडको भरमा प्रयोगशाला बनाउन खोजेको देखिन्छ । अहिले सामाजिक सञ्जालमा व्यक्त बिचार र आम जनताले व्यक्त गर्ने बिचारलाई हेर्दा जनताहरु देशी विदेशी शक्ति, पपुलिस्ट नेता, र अल्गोरिदमले तयार गरेको प्रयोगशालामा फस्दै गएको देखिन्छ । जनताले आफ्नो स्वतन्त्र निर्णय गर्ने क्षमता गुमाएर भीडको निर्देशनबाट प्रभावित भएको देखिन्छ ।
डिजिटल प्लेटफर्मको दवदवाः
डिजिटल युगमा सामाजिक सञ्जालले जनमत निर्माणमा गहिरो प्रभाव पारेको छ। एल्गोरिद्मले मानिसलाई आफूलाई मनपर्ने सामग्री मात्र देखाएर धारणा कडा बनाउने काम गर्छ।
डिजिटल प्लेटफर्मले नयाँ पुस्तामात्र होइन, सबै पुस्तालाई प्रभाव पारेको छ । एक हिसाबले अधिकांश नेपाली सामाजिक सञ्जालको नसामा झुमिरहेको देखिन्छ । जसले गर्दा उनीहरु आफ्नो विवेक गुमाइरहेका छन् । अहिले अल्गोरिदमले मानिसहरुको विवेकमाथि कब्जा जमाएको छ र फेरी एक पटक अल्लोरिदमले नेपाल र नेपालीलाई प्रयोगशाला बनाइरहेको छ र आउने दिनमा थप बनाउने देखिन्छ ।
मिस इन्फरमेसन, डिसइन्फरमेसन र हेटस्पीचको बिगबिगीले समाजलाई अराजकता र भिडतन्त्रको शिकारमात्र बनाएको छैन, नेपालीहरु अल्गोरिदमका दास र गोटी बन्दै गइरहेका छन् । स्वतन्त्र विवेचना गर्ने र विवेक प्रयोग गरी निर्णय गर्ने क्षमता करिब-करिब गुमाउन थालेको आभाष हुन्छ ।
यदि निर्णय सामाजिक सञ्जालका ट्रेन्ड, लाइक र फलोअरको आधारमा हुन थाल्यो भने लोकतन्त्र भीडतन्त्रमा रूपान्तरण हुन्छ। यस्तो अवस्थाले देशलाई फेरि अर्को चरणको प्रयोगशाला बनाउने जोखिम बढाउँछ।
यही अल्गोरिदमले तयार गरेको, देशमा केही भएन, दलहरुले केही गरेनन, पुराना दलहरु भ्रष्ट भन्ने जस्ता भाष्यहरु तयार गरेर जसरी देशलाई जलाउने काम गरे आउने दिनमा यो भन्दा पनि ठूलो अनिष्ट हुने सम्भावना देखिन्छ । यसैले देशलाई प्रयोगशाला हुनबाट कसरी जोगाउने भन्ने विषयमा ध्यान दिन आवश्यक छ ।
देशलाई प्रयोगशाला हुनबाट कसरी जोगाउने?
नेपालले विभिन्न कालखण्डमा राजनीतिक प्रयोगहरू भोगेको छ । देशलाई प्रयोगशाला बन्नबाट जोगाउने शक्ति सार्वभौम जनताको हातमा छ। भीडको पछि लागेर होइन, तथ्य, विचार, अनुभव र नीतिको मूल्यांकन गरेर निर्णय गर्नुपर्छ।
दलको सैद्धान्तिक आधार के हो? भूराजनीतिक सन्दर्भमा उनीहरूको दृष्टिकोण कस्तो छ? राष्ट्रियता र सार्वभौमिकताको सवालमा स्पष्ट अडान छ कि छैन? विगतमा गरेका काम र अनुभव के छन्? भनेर मुल्याङ्कन गर्न सकिन्छ ।
संसारमा भीडतन्त्रबाट निर्णय गर्ने, भीडको प्रभावबाट शासन चलाउने र समस्याको निकास निस्किएको कतै भेटिदैन । तर, एकथरी मानिसहरु पपुलिस्ट नारा लगाउने, जनताको मनोविज्ञान र भावनामाथि खेलवाड गर्ने, मिठा सपना बाँढ्ने र गरिव, विपन्न, अशिक्षीत जनताको फाइदा उठाएर भ्रम छर्ने काममा व्यस्त छन् ।
जनताले यस्ता कामबाट आफूलाई मुक्त गर्नुपर्छ । अल्गोरिदम, डिजिटल दुनियाँ, सामाजिक सञ्जालमा आउने सुचनालाई आफ्नो निर्णय गर्न सहयोगी माध्यमका रुपमा लिने हो । यसले नै निर्णय गर्ने अवस्था आउनुहुँदैन । यसमा युवा पुस्ता सहित सबै सचेत हुनुपर्ने देखिन्छ ।
नेताहरु, दलहरुको भुलभुलैयामा लाग्ने भन्दा पनि दलहरुको सैद्धान्तिक बैचारिक विषय, योजना, हिजो काम गरेका अनुभवको आधारमा उनीहरुलाई छनौट गर्न आवश्यक छ । कम्तिमा देश र जनताको हित प्रतिकुल काम नगर्ने अर्थात भूराजनीतिक जटिलतामा फसेको देशको राष्ट्रियता र सार्वभौमिकतामा तलमाथि नगर्ने दल र उमेद्वारलाई छनौट गर्नुपर्ने आवश्यकता छ ।
यो पटकको निर्वाचनमा आम नेपालीले सोच्नुपर्ने विषय हो । के हामी नेपाली जनताले निर्णायक राष्ट्रिय शक्ति बनाएर सबै किसिमका समस्यासँग जुध्न सक्दैनौ ? के विदेशीको कठपुतली नै बन्नुपर्छ ? हामीले यो ढंगबाट सोच्न सक्नुपर्छ । पुराना दलहरु सबै हिसावले गलत पनि होइनन । हाम्रो समाज, समग्र राज्य संरचनाका कारण भनेजस्तो काम गर्न नसकेको र जनताको अपेक्षा पूरा गर्न नसकेको सत्य हो । उनीहरुलाई खबरदारी गर्ने र जनताका पक्षमा काम गर्न वाध्य पार्ने नीति अवलम्वन गर्ने हो ।
पुराना दलहरुसँग रिस साँध्नका लागि बिचार, सिद्धान्त, योजना थाहा नै नभएका, राजनीतिक रुपमा कुनै अनुभव नभएका दल वा नेताहरु र संकास्पद, बिभिन्न आरोप लागेका दल वा नेतालाई यो देशको जिम्मा लगाइयो भने यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुँदैन ।
यी दल र नेतालाई पहिला राजनीति गर्न दिउँ । अनुभव हासिल गरुन र देश चलाउन योग्य छन् भन्ने संकेत पाइयो भने अर्को चुनावमा जिम्मा दिउँला । तर अहिलेको संकक्रमणकालिन अवस्थामा रहेको, चरम जटिलतामा फसेको देशलाई सामाजिक सञ्जालमा लाइक र फलोअर भएका, चर्का चिप्ला भाषण गर्ने, गाली गर्ने र अनुभव नभएको, राजनीति र कुटनीतिको सामान्य ज्ञान समेत नभएको व्यक्ति वा पार्टीले निकास दिन सक्दैन । यस विषयमा जनताहरु प्रष्ट हुन जरुरी छ ।
यसैले नेपाली समाज गहिरो गरी बुझेका, राजनीति र कुटनीतिको गहिरो ज्ञान भएका, भूराजनीति बुझेको र यसको भार थेग्न सक्ने, सामाजिक न्याय सहितको बिकास र समृद्धिको खाका कोर्न सक्ने सक्षम उम्मेदवारलाई निर्वाचित गर्न जनता तयार हुनुपर्छ । देशलाई प्रयोगशालाबाट बन्नबाट जोगाउने ‘साँचो’ सार्वभौम जनताको हातमा छ । अब फागुन २१ गते विवेकको प्रयोग गरी यो अधिकारलाई प्रयोग गर्नुपर्दछ ।
नेपाल जटिल संक्रमणकालीन अवस्थामा छ। यस्तो अवस्थामा भावनात्मक उत्तेजनाभन्दा विवेकपूर्ण निर्णय आवश्यक छ। सक्षम, अनुभवी, भूराजनीति बुझेका, सामाजिक न्याय र समृद्धिको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने उम्मेदवार छनोट गर्नु आजको आवश्यकता हो।
अन्ततः, नेपाल कुनै शक्तिको प्रयोगशाला होइन-यो सार्वभौम राष्ट्र हो। यसको भविष्य निर्धारण गर्ने जिम्मेवारी हाम्रै हातमा छ। अझै केही समय बाँकी छ । भीडको होइन, विवेकको साथ निर्णय गरौँ । यो देशलाई बिभिन्न बहानामा प्रयोगशाला हुनबाट जोगाऔँ ।