
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौताको विषयलाई विवादित र राजनीतीकरण गर्ने काम भएको आरोप लगाएका छन्।
बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले उद्योगीहरूले ऐन कानुनअनुसार तिनुपर्ने रकम तिर्नैपर्ने दाबी गरे।
‘बक्यौतालाई झन् विवादित बनाउने र राजनीतीकरण गर्ने काम भएको छ। जुन बेला लाइन काटिन्छ त्यसअघि जति पनि प्रडक्ट उत्पादन गरेको हुन्छ, पूर्ण क्षमतामा चलेको हुँदैन,’ घिसिङले अघि भने, ‘जहिलेसम्म त्यो बिक्री हुँदैन उहाँहरु लाइन जोड्न यहाँ आउनुहुन्न। अनि बेरोजगारी बढायो, आर्थिक अवस्था तहसनहस भयो भनेर इमोसनल ब्ल्याकमेलिंग गर्नुहुन्छ। यो राम्रो कुरा होइन।’
उनले अघि थपे, ‘यो सरकारले उद्योगीलाई हेर्नुपर्छ तर तिर्नुपर्ने चिज उहाँहरूले पनि तिर्नुपर्छ। ऐन कानुनअनुसार तिर्नुपर्ने रकम उहाँहरूले तिर्नुपर्छ।’
पछिल्लो सयम देखिएका यस्ता गतिविधिले प्राधिकरणको वित्तीय अवस्थालाई धक्का पुर्याउने उनको विश्लेषण छ।
बक्यौता असुलीमा ठूलो राजस्व उठाएर नाफा कमाउने जस्ता आरोप पनि लगाएको भन्दै उनले अघि भने, ‘उहाँहरूले आफ्ना प्रडक्टमा १७ घण्टा लोडसेडिङमा सर्वसाधारणले भन्दा बढी बिजुली प्रयोग गरेर फाइदा लिनुभएको छ। अहिले तिर्दिन भन्नु त्यति न्यायिक नहोला।’
साथै उनले १५ दिनभित्र बक्यौता नतिरे लाइन काट्ने चेतावनी दिएका छन्।
‘कात्तिक ८ गते लाइन काटेका थियौं। भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ। अब १५ दिनभित्र बक्यौता उठाउन लाग्छौं। १५ दिनभित्र उहाँहरूले सरकारको निर्देशनअनुसार बक्यौता तिर्नुपर्छ। नतिरे हामी कानुनी प्रक्रियामा जान्छौँ,’ उनले भने।