रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बिहीबार पनि बयान लिइँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा तेस्रो दिन पनि बयान जारी छ ।
जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान लिएर सक्ने तयारी छ । बयान सकिए लामिछानेलाई आजै कास्की पठाइने प्रहरीले जनाएको छ ।
मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको छ ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् ।
कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ भने, मुख्य आरोपी जीबी राई अझै फरार छन् ।