इन्सपेक्टर बिनु शाहीसहित ६ जनामाथि मुद्दा चलाउनु पर्ने भन्दै सीआईबीले बुझायो प्रतिवेदन

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई मुद्दा चलाउनु पर्ने निष्कर्ष निकालेको छ । सिआईबीले अनुसन्धान टुंग्याएर हिजो (मंगलबार) शाहीसहित ६ जनालाई मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको हो ।

सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । सीआईबीले प्रहरी प्रभाव भैंसेपाटीका तत्कालीन इन्सपेक्टर बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत कनेक्नस देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीको थियो ।