ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल शान्तिनगरबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौको शान्तिनगरबाट नेपाललाई पक्राउ गरिएको हो ।

ग्रेटर नेपालको कार्यालयबाट पक्राउ गरेर आफूलाई भद्रकाली ल्याइएको नेपालले बताए । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा नियन्त्रणमा लिइएको बुझिएको छ ।

हिजो ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरेर नेपालका दुई छिमेकीसंग समान सम्बन्ध कायम राख्न भन्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।