वीरगन्जजबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई आज बिहान १० बजेतिर सडक छेउको खोल्सामा पल्टिएको हो।

दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै चार जना भारतीय छन्। घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका छन्।

बसमा १८ जना यात्रु सवार रहेकामा चालकसहित १७ जना घाइते भएका हुन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।