सकियो धितोपत्र बोर्डको अध्यक्षका लागि लिइएको अन्तर्वार्ता

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि लिइएको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सकिएको छ।

अर्थ मन्त्रालयले गठन गरेको तीन सदस्यीय सिफारिस समितिले चौथो पटकमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण सकेको हो।

पहिलो चरणको अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये आकांक्षीहरु सन्तोष श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तवार्ता दिएकोमा बाँकी रहेका नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पनि आइतबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन्।

सिफारिस समितिले अब चार जनाबाट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ।

धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ।

सोहीअनुसार अब चार जनाबाट तीन जनाको नाम समितिले मन्त्रिपरिषदमा सिफारिस गरेपछि मन्त्रिपरिषदले तीन जनाबाट एक जना अध्यक्षका लागि छनौट गर्नेछ।