बारा । बारा कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याक मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कुशवाहाको हत्यापछि फरार रहँदै आएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ बस्ने ४१ वर्षका सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्याम्पस प्रमुख हरिभुशनको गत जेठ ३२ गते पक्राउ परेका कुशवाहासहित १७ जनाले घेरा हाली गोली हानेर हत्या गरेको बारा प्रहरीको भनाइ छ ।
पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा नेपाली सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आदर्शकोतवाल गाउपालिका–२ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख हरिभुसनमाथि आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साँझ सवा पाँच बजेको समयमा गोली प्रहार भएको थियो ।
उनको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । प्रहरीले उक्त घटनामा प्रयोग भएको हतियार दुई थान पेस्तोल, सात राउन्ड गोली, चारवटा मोटरसाइकल, चार थान मोबाइल, ल्यापटप र सिम कार्ड बरामद गरी अनुसन्धान गरिरहेको थियो ।
सो क्रममा पक्राउ परेका आठ जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरी सकेको छ । तर घटनाका मुख्य अभियुक्त सुरेन्द्र भने हालसम्म फरार रहँदै आएका थिए ।