युएईमा ‘अलपत्र’ परेका अर्घाखाँचीका थानेश्वरको याचना- ‘निकै कठिन अवस्थामा छु, मलाई नेपाल फर्काइदिनुहोस्’

रीता बुढाथोकी  

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा ‘यात्रा प्रतिवन्ध’मा परेका पाणिनी गाउँपालिका–८ अर्घाखाँचीका थानेश्वर घिमिरेले नेपाल फर्किनका लागि पहल गरिदिन अपिल गरेका छन् । प्रतिवन्धका कारण काम गर्न नपाएको र हाल बिरामी अवस्थामा कठिन जीवन बिताइरहेको भन्दै उनले नेपाल फर्काइदिन अपिल गरेका हुन् ।

एक वर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा दुवई पुगेका थानेश्वर आफ्नै आँखा अगाडी भएको एक महिलाको हत्याका कारण यात्रा प्रतिवन्ध (ट्राभल ब्याण्ड)मा परेका थिए । त्यसपछि उनले त्यहाँ काम गर्न पाएनन् र नेपाल फर्किन समेत सकेका छैनन् ।

लामो समयदेखि बिरामी भएको भन्दै उनले आफु निकै कठिन अवस्थाबाट गुज्रिरहेको बताए । युएईस्थित नेपाली राजदुताबास र नेपाल सरकारलाई समेत नेपाल फर्किने वातावरण मिलाईदिन उनले आग्रह गरेका छन् ।

युएई प्रशासनले थानेश्वरमाथि प्रतिवन्ध लगाउनुको कारण यस्तो छ–
कुरा एक वर्ष अघिको हो । थानेश्वर गाउँमा बेरोजगार थिए । गाउँमा सानोतिनो काम नपाए पछि उनले बिदेश जाने योजना बनाएका थिए । गाउँकै दिदी नाता पर्ने २९ वर्षिया राधिका घिमिरे र उनका श्रीमान नेत्र प्रसाद न्यौपाने बैदेशिक रोजगारीका लागि युएई पुगेका थिए ।

राधिका र थानेश्वरको बेला बेलामा कुरा भइरहन्थ्यो । यसैबीचमा थानेश्वरले राधिकालाई दुवई आउन चाहेको बताए । त्यसलगत्तै राधिकाले थानेश्वरलाई भिजिट भिसामा दुवई आउने प्रवन्ध मिलाइदिइन् । र, राधिकाकै पहलमा थानेश्वर एक वर्ष अघि दुवई पुगे ।

राधिकाले थानेश्वरलाई काम नपाउन्जेल आफ्नै कोठामा राखिन् । पहिलो पटक घर छोडेका थानेश्वरले परदेशमा राधिकाको अभिभावकत्व पाए । त्यस कारणले पनि उनले दुवईमा एक्लो महसुस गर्नु परेन । राधिका र उनका श्रीमान दिनहुँ काममा जान्थे ।

थानेश्वर युएई पुगेको आठौँ दिन भएको थियो । उक्त दिन राधिका र उनका श्रीमानबीच झगडा भयो । दुबै जनाको कुटाकुट समेत भयो । त्यो कुराले थानेश्वर दुखी भए । दुबै जनालाई झगडा नगर्न भन्दै सम्झाएर उनी ट्वाइलेट छिरेका थिए । ट्वाइलेटबाट निस्किदाँ राधिका त्यहाँ थिइनन् ।

नेत्र प्रसादले ‘तेरो दिदी हाम फालेर मरी’ भन्दै हतार–हतार कोठाबाट निस्किए । घरको छतबाट तल हेर्दा जमिनमा राधिकाको शव क्षतबिक्षत अवस्थामा थियो । आफ्नै गाउँको दिदीको हत्याले थानेश्वर निकै मर्माहित बने । नेत्र प्रसाद भने आफ्नै श्रीमतिलाई घरको छतबाट धकेलेर हत्या गरी फरार भएका थिए ।

थानेश्वरले तत्कालै प्रहरीलाई घटनाका बारेमा जानकारी गराए । तर, उक्त घटनाका कारण उनी आफै अनुसन्धानमा तानिए । उनी तीन दिन प्रहरीको हिरासतमा बस्नु पर्यो । यता, आफ्नै श्रीमतिको हत्या अभियोग लागेका नेत्र प्रसाद भने फरार छन् ।

युएई प्रहरीले नेत्रको खोजी गरिरहेको छ । तर, आरोपी नेत्र प्रसाद न्यौपाने फेला नपरेको र घटनाको टुङ्गो नलागेको भन्दै युएई प्रशासनले थानेश्वरको पासपोर्ट जफत गरि उनलाई ‘यात्रा प्रतिवन्ध’ लगाइएको छ ।

सोही घटनाका कारण थानेश्वर एक वर्षदेखि अप्ठ्यारोमा छन् । काम गरौँ भिसा छैन, स्वदेश फर्कौँ यात्रामा प्रतिवन्ध लगाइएको छ । यसै कारण थानेश्वर बिगत १ वर्षदेखि बिरामी शरिर लिएर बेवारिसे अवस्थामा याचना गरिरहेका छन् ।

परदेशमा बन्धनक भएपछि थानेश्वरकी आमाले छोरालाई नेपाल फर्काइदिन आग्रह गरेकी छन् । उनी एक वर्ष देखि छोराको प्रतिक्षामा छन् ।

थानेश्वरलाई नेपाल फर्काउनका लागि पहल गरिदिन अर्घाखाँचीस्थित जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय लगायत सम्वन्धित निकायमा आग्रह गरिएको भएता पनि अहिलेसम्म कसैले पहल नगरेको उनकी दिदी लक्ष्मी घिमिरेले गुनासो गरिन् ।

लक्ष्मीले भाई प्रतिवन्धमा परेदेखि घर परिवार घरमा ठूलो आर्थिक र मानसिक संकटमा परेको बताइन् । उनले भनिन्, ‘घरमा बुबा हुनु हुन्न । आमा बुढी भइसक्नु भयो । परिवारको सम्पूर्ण जिम्मेवारी उसैमाथि छ । भाईमाथि यस्तो घटना भएदेखि आमाको अवस्था नाजुक भएको छ ।’

भाई परदेशमा अलपत्र अवस्थामा रहेको भन्दै नेपाल सरकारलाई उच्चस्तरीय कूटनीतिक पहल गरिदिन उनले आग्रह गरेकी छन् । ‘हामीले  सबै निकायमा गुहार गरेका छौँ । अब नेपाल सरकारले अनुसन्धान र कूटनीतिक पहल गरि समस्या समाधानको पहल गरिदिए मेरो भाइले न्याय पाउने थियो,’ उनले भनिन् ।

यता, यूएईस्थित नेपाली राजदूतावासले घिमिरेमाथिको यात्रा प्रतिबन्ध स्थानीय कानूनी प्रक्रिया पूरा नभएसम्म हटाउन नसकिने बताइएको छ । राजदूतावासका अनुसार उक्त मुद्दा हत्या जस्तो गम्भीर प्रकृतिको भएका कारण यूएईका सम्बन्धित निकायहरूले अनुसन्धान र कानूनी कारबाही टुंगिएपछि मात्र प्रतिबन्ध फुकुवा गर्ने स्पष्ट बताएका छन् ।

उनीमाथि लागेको प्रतिवन्ध फुकुवा गर्नका लागि नेपाली राजदूतावासले श्रम काउन्सिलर, जनसम्पर्क अधिकृत र थानेश्वरका कानूनी प्रतिनिधिसहित प्रहरी प्रशासन र अदालतसँग पटक पटक भेटवार्ता गरी नेपाल फर्काउन अनुमति माग गरेको थियो ।

तर, युएईस्थित अध्यागमन कार्यालयले अनुसन्धान नसकिँदासम्म प्रतिबन्ध नहटाउने अडान लिँदै राजदूतावासको अनुरोध अस्वीकार गरेको बताइएको छ ।

सन् २०२४ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म चलेको आममाफी (एम्नेस्टी) अवधिमा समेत राजदूतावासले थानेश्वरका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) तयार गर्न पहल गरेको थियो । तर, विद्यमान प्रतिबन्धका कारण उक्त प्रयास समेत असफल भएको दुतावासले जनाइएको छ ।

प्रतिबन्धका कारण उनले न रोजगारी गर्न पाएका छन्, न नेपाल फर्कन सकेका छन् । हाल उनी बिरामी अवस्थामा कठिन जीवन बिताइरहेको बताइरहेका छन् ।

घरमा थानेश्वरको आमा, श्रीमति र दुई वर्षिया छोरीले उनको बाटो हेरेर बसेका छन् ।

सिफारिस