
काठमाडौँ । जापानका लागि नेपालको राजदूतमा सिफारिस गरिएका जिज्ञान कुमार थापाले संसदीय सुनुवाइ प्रक्रिया जारी रहेकै अवस्थामा आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । थापाले संसदीय सुनुवाइ समितिका सभापतिलाई पत्राचार गर्दै राजदूत नियुक्तिको प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार जापानका लागि नेपालको राजदूतमा सिफारिस भएका थापाको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको थियो । जापानसँग जोडिएका सम्भावित स्वार्थ बाझिने विषयमा थप अध्ययन र स्पष्टता आवश्यक रहेको भन्दै समितिमा सुनुवाइ प्रक्रिया जारी रहेको उनले निवेदनमा उल्लेख गरेका छन् ।
लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च सम्मान गर्दै कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता महत्वपूर्ण हुने विश्वासका साथ नाम फिर्ता लिने निर्णय गरेको थापाले बताएका छन् ।
‘देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम होइन,’ निवेदनमा उनले भनेका छन्, ‘आगामी दिनमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न सदैव तत्पर रहनेछु ।’
आफ्नो नाम राजदूत पदका लागि सिफारिस गरी विश्वास व्यक्त गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै उनले संसदीय सुनुवाइका क्रममा सहयोग गर्ने समितिका सभापति तथा सदस्यहरूलाई पनि धन्यवाद दिएका छन् ।
थापाले आफ्नो नाम फिर्ता लिएको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ पठाएका छन् ।