यी हुन् रक्सीको तालमा कुटाई खाने कांग्रेसका मेयर, भन्छन्,‘तीललाई पहाड बनाईयो’

दियो पोस्ट  

 

काठमाडौं, १८ कात्तिक । स्याङजा चापाकोट नगरपालिकाका मेयर शिव गिरीसहितका टोली र भक्तपुरबाट रारा घुम्न गएको युवाहरुबीच रक्सीको नसामा झगडा भएको पाइएको छ । मेयर गिरीले आफूलाई केही नभएको बताए पनि कालिकोटका डिएसपी विनोद गिरीले दुवै पक्षबीच रक्सीको नशामा झगडा हुँदा मेयरको टाउकोमा १२ टाका लगाइएको जानकारी दिएका छन् । आफू घाइते भएको भन्ने विषयमा बाहिरबाट खबर सुने पनि आफू सकुशल रहेको उनी बताउँछन् ।
दियो पोस्टसँग कुराकानी गर्दै गिरी यसो भन्छन् :
मैंले पनि मसहितका व्यक्तिहरु घाइते भएको भन्ने खबरहरु सुनें । हामी राराबाट फर्किंदै छौं । तर, अतिरंजित गरे । तिललाई पहाड बनाए । खासमा केही भएको होइन । हामी सकुशल छौं ।
डिएसपी विनोद शर्मा भन्छन् :
राती १० बजे मेयरसापसहितको टोली मुगुको रारा ताल घुमेर आउनुभएको रहेछ । आएपछि दारु खान थाल्नुभएछ । दारु लाग्दै गएपछि दोहोरो गाउन थाल्नुभएछ । भक्तपुरबाट आएका व्यक्तिहरु पनि सोही होटलमा हुनुहुँदोरहेछ । भक्तपुरका आएका व्यक्तिहरुले दोहोरो नचर्काउन मेयरसावको टोलीलाई आग्रह गर्दा नमानेपछि झडप भएको पाइयो । झडपको क्रममा मेयरको टाउकोमाथि बियरको बोटल बजारिंदा १२ टाँका लगाइइको छ । मेयरसहित तीन जना घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । बियरका बोतल हान्ने ८ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
यसरी भयो घटना
रारातालबाट फर्किने क्रममा एउटा होटलमा बास बस्ने क्रममा गिरीको टोली र भक्तपुरका युवाहरुको टोलीबीच झगडा हुँदा गिरी टाउकोमा चोट लागेको संचारमाध्यमले जनाएका छन् । तर, गिरीले आफू सकुशल रहेको प्रतिक्रिया दिएका हुन् । गिरीका स्वकीय सचिव र चालकलाई समेत टाउकोमा टाका लगाइएको समाचार संचारमाध्यममा आइरहेका बेला मेयर गिरीले भने आफूहरु सकुशल रहेको प्रतिक्रिया दिएका हुन् ।
राराबाट फर्किने क्रममा एउटै होटलमा बसेकाहरु यी दुवै पक्षका व्यक्तिहरुले अत्याधिक रक्सी गरेर झगडा गरेको बताइन्छ । गिरी कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।