सुनापती गाउँपालिकाको उपहार : खेल जित्ने खेलाडीलाई पुरस्कारमा २५ प्रतिशत कर

दियो पोस्ट  

रामेछाप कार्तिक २० । स्थानीय तहको सरकारले चर्को कर लगाएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ । स्थानीय तहको सरकारले लगाउने करको दायर बढाएर खेलकुदमा चर्को कर असुली गरेको घटना बाहिरिएको छ । रामेछापको सुनापती गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ३ हिलेदेवीमा दशैं तिहारको अवसरमा आयोजना गरेको गाउँपालिकास्तरीय भलिवल प्रतियोगीतामा २५ प्रतिशत कर लगाएपछि गाउँपालिकाभित्र वडाको चर्को आलोचना सुरु भएको छ ।

वडा नम्बर ३ ले आयोजना गरेको भलिवल प्रतियोगीतमा १४ टिम सहभागी रहेको थियो । आयोजकले टिक दर्ता बापत ४२ हजार रुपैयाँ समेत उठाएको थियो । सुनापती गाउँपालिकाले भलिवल प्रतियोगीताको लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाको बजेटबाट खेलकुदको विकास गर्ने उदेश्य सहित आयोजना गरेको खेलकुद प्रतियोगीतमा टिम दर्ता शुल्क नै चर्को लिएको भन्दै खेल हुने दिन नै खेलाडीहरुले आपत्ति जनाएका थिए ।

टिम दर्ता शुल्क तीन हजार रुपैयाँ लिइएको थियो । त्यति सम्म त ठिकै थियो । तर कार्तिक ४ गते साझ ६ बजे भलिवल प्रतियोगीता आयोजना भएकोस्थल वडा नम्बर ३ को वडा कार्यालयसँग जोडिएको खेलकुद मैदानमा विवाद सुरु भयो । आयोजकले यतिसम्म लापवाही गरे कि निकै दुःख र मेहनत गरेर तेस्रो बन्न सफल भएको टिम गुप्तेश्वर आधारभूत विद्यालयका खेलाडीहरुले नाम बिनाको खाली प्रमाणपत्र वितरण सुरु भयो । खेलाडीहरुले तातिदै आपत्ति मात्र जनाएनन प्रमाणपत्र वितरणस्थलमा खाली प्रमाणपत्र दिएको आक्रोश पोख्दै ठाउँको ठाउँ प्रमाणपत्र नै च्यातिदिए ।

अब आयोजकको आँखा खुलेको थियो । भलिवल प्रतियोगीतको प्रचार गरेपनि व्यवस्थापनमा भने आयोजक निकै कमजोर रुपमा देखियो । भलिवल प्रतियोगीतमा सहभागीहरुले त्यहीँ नै वडा अध्यक्ष बाबुराम तामाङ कडा रुपमा आलोचना गरे । कार्यक्रमस्थलमा वडा अध्यक्ष तामाङ निकै निरीह रुपमा प्रस्तुत भएका थिए । अझ अचम्म चाही जब पुरस्कारको राशी खाममा हालेर वितरण गरियो र दोस्रो बन्न सफल टिमले उक्त खाम खोलेर हेरेपछि आयोजक र खेलाडीबीच मञ्चमा नै भनाभन भयो । आयोजनाले घोषणा गरेको पुरस्कार शारी अनुसार प्रथम हुने पचास हजार, द्धितिय हुनेले तीस हजार र तृतिय हुने वीस हजार रुपैयाँ प्राप्त गर्ने घोषणा गरेको थियो ।

 

आयोजकले घोषणा गरेकाले खेलाडीहरुले पनि पुरस्कारको बारेमा चासो व्यक्त गरेनन् । जब विजयी भएर पुरस्कार नगद सहित प्रमाणपत्र लिएर खोल्ने क्रममा मात्र थाहा भयो पुरस्कारको राशी ७ हजार पाँच सय कम भेटियो । सुनापती युवा खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका टिम कोच रोज घिसिङले घोषित पुरस्कार राशी भन्दा कम नगद रहेको प्रश्न गरेपछि वडा अध्यक्ष तामाङले गाउँपालिकाले २५ प्रतिशत कर काटिएको जवाफ दिएपछि खेलाडीहरु तीन छक परेका थिए । विजयी तीन वटै टिमको २५ प्रतिशतको दरले कर कट्टी गरेपछि खेलाडीहरु तीन छक परेका थिए ।

यो त अनौठो भो : घिसिङ

टिम कोच रोज घिसिङले भलिवल प्रतियोगीतमा आयोजनकहरुले खेलाडीहरुलाई झुक्याएको बताए । उनले दियो पोष्टसँग भने,‘हामीले पूर्व सूचना अनुसार तोकिएको पुरस्कार शासी पाउने आशा र अपेक्षा गरेका थियौ, तर २५ प्रतिशत कर कट्टी गरेर पुरस्कार दिएपछि कहीँ नभएको जात्रा हाडी गाउँमाजस्तै भयो ।’ आफूले घोषित पुरस्कारमा कर लाग्ने कुरा अहिलेसम्म थाहा नभएको बताउदै पुरस्कारमा समेत आर्थिक अनियमितताको गन्ध आएको बताए । पुरस्कारको बारेमा खेल अवधिभर कुनै जानकारी गराइए, खेलकुद प्रतियोगीता सकिएपछि पनि कुनै सूचना पाइएन, अन्तिममा एकै पटक पुरस्कार प्राप्त गर्ने बेलामा २५ प्रतिशत कर कट्टी गर्ने निर्णयले हामीलाई आश्चार्य बनायो,’ घिसिङले भने ।

बेपत्ताको नाममा ‘स्मृति कप’ अर्को विवादित निर्णय

गाउँपालिका वडा नम्बर ३ ले आयोजना गरेको भलिवल प्रतियोगीताको नाम राखिएको थियो–‘शिलत स्मृति कप २०७५’ शितल अर्थात साविब हिलेदेवी गाविस वडा नम्बर २ निवासी राजु थापामगर तिनै व्यक्ति हुन जसलाई तत्कालिन अवस्थामा राज्यले बेपत्ता बनाएको थियो । शितलको बारेमा अहिलेसम्म राज्यले उनको मृत्यु भएको आधाकारिक जानकारी परिवारलाई गराइएको छैन् । राष्ट्र परिवर्तनमा लाग्ने व्यक्तिहरुलाई स्मरण गर्नु स्वगतयोग्य काम हो तर मृत्युको पुष्टि नै नभई शिलत स्मृत कपको आयोजना गर्नुले वडा अध्यक्ष बाबुराम तामाङ माथि नै प्रश्न खडा गरेको छ । उनीमाथि नेकपाका कार्यकर्ताले प्रश्न गरेका छन–वेपत्ता व्यक्तिलाई मृत्यु भएको घोषित गरेर शिलत स्मृति कप किन घोषणा गरियो, कि यसको उचित प्रमाण वडा अध्यक्ष तामाङसँग छ ?’ वडा अध्यक्ष तामाङ यस घटनाको पुष्टि गर्न नसक्ने हो भने नैतिक संकट झेल्नु पर्ने अवस्था समेत सृजना भएको छ ।

शीर्षक एउटा काम अर्कै !

वडा नम्बर ३ ले बार्षिक योजना युवा खेलकुद तथा बालबालिका क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो । पाँच लाख रुपैयाँमा आयोजना भलिवल प्रतियोगीता मात्र गर्नुपर्नेमा सोही बजेटभित्र बृहत्त सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको थियो । बजेटमा विनियोजन गरेको शिर्षक बालबालिकाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा त्यसको विपरीत सांस्कृति कार्यक्रम समावेश गर्नुले आयोजकमाथि थप प्रश्न जन्माएको छ । शीर्षक एउटा राख्ने काम अर्कै गर्ने यो पारा वडा अध्यक्ष चित्त बुझ्दै छैन, एक खेलाडीले भने,‘यो प्रवृत्तिले वडाको विकास कसरी होला, वडा अध्यक्षज्यू अलि गम्भीर भएर सोच्ने कि ?’

वडा अध्यक्ष तामाङ फोन गर्छु भन्दै तर्किए


दियो पोष्टले वडा अध्यक्ष बाबुराम तामाङलाई पटक–पटक सम्पर्क गरेको थियो । धेरै पटकको प्रयासपछि उनी सम्पर्कमा आए । उनलाई दियो पोष्टले भलिवल प्रतियोगीताको पुरस्कारमाथि लगाएको करको बारेमा जिज्ञासा राख्दा उनले भने,–म मिटिङमा छु, कुरा गर्छु । तर उनी सम्पर्कमा आउन चाहेनन् ।

TATA ADD