मिर्गौला प्रत्यारोपणमा दोस्रो सफलता: भक्तपुरको प्रत्यारोपण केन्द्र र वीर अस्पतालमा यसरी गरियो सफल प्रत्यारोपण

दियो पोस्ट  

भक्तपुर, २० कात्तिक । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई विरामीमा सफल प्रत्यारोपण गरिएको छ । केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ बर्षीय टेकबहादुर योन्जनको दानबाट प्राप्त दुईवटा मिर्गौला वीर अस्पताल र उक्त केन्द्रमा उपचारत दुई जना विरामीमा सफल प्रत्यारोपण गरिएको बताएका छन् ।

केन्द्रले पोखरा घरभई बीर अस्पतालमा मिर्गौलाको उपचार गराइरहेका ५६ वर्षका एक पुरुषलाई र स्याङ्जा घरभई पोखरा मनिपाल टिचिङ्ग अस्पताल हुदै भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका ३० वर्षीय अर्का पुरुषलाई सफल प्रत्यारोपण गरिएको हो । डेढ वर्षदेखि प्रत्यारोपणको पर्खाइमा रहेका विरामीहरु सफल उपचारपश्चात खुशी हुँदै धन्यवाद ब्यक्त गरे ।
पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा. श्रेष्ठले मस्तिष्क मृत्यू भएकाहरुले गरेको मिर्गौला दानबाट प्रत्यारोपण गर्न ५०० जना मिर्गौलाका विरामी फाराम भरेर प्रतिक्षामा रहेको बताए । उनले भने–“नेपालमा हरेकवर्ष एक हजार जनाको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको छ, ती विरामीबाट नेपालको कानून अनुसार आठ वटा अंग दान लिन मिल्छ, त्यस्ता विरामीले गर्ने अंगदानबाट ८ हजार विरामीको ज्यान बचाउँन सकिन्छ ।”

उनका अनुसार मस्तिष्क मृत्यू भएका एक विरामीबाट दुई मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानोआन्द्रा, आमाशय लगायतका अंग दान लिन मिल्छ । यसले एक वर्षमा हजारौको ज्यान बचाउँन सकिन्छ ।
यसअघि २०७४ बैशाख २८ गते दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका २४ वर्षीय गोविन्द भुजेलको मिर्गौला दानबाट नेपाल मै पहिलो पटक मस्तिष्क मृत्यु भएकाको अंगदानबाट दुई विरामीलाई सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो भने अहिले दोश्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ ।

गत १२ गते राती ललितपुरको गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरमा टेकबहादुर योन्जनको मस्तिष्कघातका कारण मष्तिस्क मृत्यु भएको न्यूरोलोजिष्ट डा. प्रविण श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट चिकित्सक डा. आरती राई र डा. निरज हिराचनले जानकारी गराएका छन् ।अस्पतालका चिकित्सक डा. हिराचनले विरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति आपूm मरेर गएता पनि अरु व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाए पछि परिवारले अङ्ग दान गर्न मञ्जुरी दिएपछि त्यही रात प्रतिक्षामा रहेका दुई विरामीलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ्ग, पोष्ट मार्टम विज्ञ डा. हरिहर अवस्थी, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सपलान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता शृुसिल श्रेष्ठद्वारा कानूनी प्रक्रिया पुरा गरी अंग झिकिएको थियो । केन्द्रका चिकित्सक डा. कल्पना श्रेष्ठ, प्रा.डा. राकेश कुमार बर्मा, डा. मोहन देवभण्डारी, डा. विजय कटुवाल, डा. दिपेश श्रेष्ठ, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. किरण जङ्ग कुँवर, डा. शोभित थापा, नर्सिङ्ग निर्देशक दुर्गा श्रेष्ठ, डा.मेघा जोशी, डा.अमृत के.सी, डा. लक्ष्मीप्रसाद त्वयाना, ओटी इन्चार्ज सिजन गुरुङ लगायतका प्राविधिक सहितको टोलीले सोही रात मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिईएको छ ।

पत्रकार सम्मेलनमा अंग दाता योञ्जनका कान्छो छोरा निर्मल भन्ने मकर योञ्जनले आफ्नो बुबाको दुई मिर्गौला दान गरेर अरु दुई जनाको ज्यान बचाउँन पाउँदा यो परिवार खुसी भएका बताए ।
उनले भने–“विदेशमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले अंग दान गर्छन, तर हाम्रो देशमा अझै पनि अंग दान गर्न हिच्किचाउँने प्रचलन छ, अंग दान गर्नुपर्छ भन्ने सन्देश दिनका लागि हाम्रो परिवारले सहजै अंग दान गर्न स्वीकारेका हौ, अरुलाई पनि अंगदान गर्न म आग्रह गर्छु ।” कार्यक्रमा अंगदता योञ्जनका परिवारलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

यसवर्ष केन्द्रलाई २० जनाको मस्तिष्क मृत्यु भएको जानकारी आएपनि १८ जना परिवारले अंग दान गर्न नमानेको जानकारी गराईएको छ ।

TATA ADD

सिफारिस