धादिङ । ३ मङ्सिर । एकादशी जात्रामा धादिङ र गोरखाको युवाहरुबीच धादिङको ज्वालामूखी गाउँपालिका वडा न.ं ५ बुङकोटघाटमा झडप हुँदा एक जना प्रहरी सहित ४ जना घाइते भएका छन् भने १३ ओटा सवारी साधनमा क्षति पुगेको छ ।
गएराती भएको झडपमा धादिङ नेपाल प्रहरीका असइ बिनयकुमार पाण्डे गम्भीर घाइते भएकोले धादिङ अस्पतालमा उपचार हुन नसकी थप उपचारबा लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाउव उपरिक्षक श्यामकुमार महतोले बताए । घाइते पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ । दुबै पक्षविच झडप भएपछि झड छुट्याउन गएको प्रहरी टोलीलाई ढुंगाले लागेर घाइते भएका हुन् ।
गोरखातर्फबाट आएको एक समूहले आक्रमण सुरु गरेपछि घटना भएको र धादिङतर्फबाट समेत सिमाना क्षेत्र भएकोले आक्रमण गरिएको थियो ।
झडपमा धादिङतर्फका अर्का एक जना र गोरखातर्फका अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले पक्राउ गर्ने डरले फरार रहेको बुझिएको छ । दुई जना घाइतेको चितवनमा उपचारका लागि लगिएको बुझिएको छ भने एक जना घाइते गाउँकै मेडिकलमा उपचार गराएर घर बसेका छन् ।
घटनामा धादिङ र गोरखातर्फको ७ ओटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने ३ ओटा सामान्य क्षति पुगेको छ । त्यसैगरि ३ ओटा बोलेरो गाडीमा क्षति पुगेको छ ।
एकादशी जात्रामा भएको घटनालाई सामान्नीकरण गर्न र एक आपसमा मिलेर विकास गर्नका लागि गोरखातर्फका जनप्रतिनिधिसंघ आफूले छलफल सुरु गरेकोले दुबैपक्ष बसेर छलफल गरि मिलाउने पक्षमा आफू लागि परेको ज्वालामूखी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष कृष्ण काप्रीले बताए ।
घटनाको अनुसन्धान गर्न र दोषी ढहरिएकालाई कारबाही गर्न पक्राउ आदेश समेत लिएर धादिङबाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको भएपनि सोमबार बेलुकासम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको र घटनाबारै अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक महतोले बताए ।