काठमाडौँ, मंसिर ६ । सरकारले राष्ट्रपतिको गाडी खरिद निर्णयबारे स्पष्टिकरण दिएको छ । राष्ट्रपतिको गाडी खरिद प्रकरणको चौतर्फी रुपमा विरोध र विवाद भएपछि सरकारले राष्ट्रको उच्च अहोदामा बसेका व्यक्तिहरुलाई अनावश्यक रुपमा विवादित बनाउन खोजिएको बताएको छ ।
शुक्रबार सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले संचारमाध्यमहरुसंग कुरा गर्दै राष्ट्रपति आफैले गाडीको माग समेत नगरेको बताएका छन् । ‘राष्ट्रपतिले अहिले सम्म केही माग्नु भएको छैन, यो त सरकारको कर्तव्य हो’ मन्त्री बास्कोटाले भने, ‘१८ करोड एउटै गाडीको मोल पनि होईन ।’ गाडी खरिद प्रकरण र उपराष्ट्रपतिको निवास सार्ने सम्वन्धमा जानकारी गराउँदै मन्त्री वास्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउने र स्थापित संस्थालाई बदनाम गराउने उद्धेश्यले मात्र यस विषयमा अनावश्यक टिप्पणी गरेको बताए ।
बास्कोटाले राष्ट्रपतिले चढ्ने एउटै गाडीको मोल १८ करोड नभएको समेत स्पष्ट पारेका छन् । राष्ट्रपतिले चढ्ने बुलेट प्रुफ गाडी सहित सुरक्षाकर्मीका सवारी साधन र एम्बुलेन्स लगायत वैकल्पिक सवारी साधन किन्नको लागि कुल १८ करोड लाग्ने बताइएको छ । गाडी प्रकरण बारे कसले कस्तो टिप्पणी गरे र बुझ्दै नबुझी र बुझी बुझी पनि समाजिक संजालमा कसले के लेखे ति सबै सरकारले अवलोकन गरिरहेको समेत मन्त्री बास्कोटाले बताए ।
उपराष्ट्रपतिको कार्यलयलाई सैनिक मंच सार्न लागिएको कुराबारे पनि विभिन्न संचारमाध्यम र सामाजिक संजालहरुले अर्थहिन टिप्पणी गरेको बताए । सबै टिकाटिप्पणीहरु सरकार र उच्च संस्थालाई बदनाम गर्नको लागि गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको समेत बताए ।