
काठामडौं, कार्तिक १७ । वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानीमा अधिकारीहरू सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गर्न बाध्य भएका छन्।
वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ।
दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्।
हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।
नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित वायु पनि रहेको विज्ञहरूले बताउने गरेका छन्।
हिउँद र सुक्खा याममा लुम्बिनी र सौराहामा काठमाण्डूमा भन्दा बढी प्रदूषण देखिनुमा सीमापारिबाट आउने कण जिम्मेवार भएको बताइन्छ।
हलुका हुने भएकाले ती मसिना कणहरू धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै हजारौँ किलोमिटर टाढासम्म पुग्न सक्छन्।
बीबीसीले लेखेको खबर अनुसार, नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने रौँभन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।
काठमाण्डूको रत्नपार्कमा रहेको प्रदूषण मापक यन्त्रमा शनिवार बिहान त्यो मात्रा बढेर १६६ अर्थात् चारगुणाभन्दा बढी भएको देखिएको थियो।
त्यहाँ अठचालीस घण्टामा त्यो मात्रा न्यूनतम ६८ र अधिकतम १७६ पुगेको थियो।
काठमाण्डूका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरूले वायु प्रदूषणको मात्रा बढिरहेको देखाएका छन्।
त्यस्ता साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छन्।
जाडो याममा वायुमण्डलमा ‘ब्राउन क्लाउड’ भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गरेकाले समस्याहरू थप जटिल बन्ने विज्ञहरूको भनाइ छ।