
रौतहट, कार्तिक १८ । रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध जिल्ला सरकारी वकिलको कार्यलय रौतहटले सोमबार मुद्दा दायर गर्ने भएको छ । कार्यलयले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागेको हो ।
सबै प्रमाणसहित आलमसहित उनीहरुविरुद्ध मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ । विस्फोटलाई लुकाउन त्यतिवेला सिंगो राज्य नै लागेको थियो । तर, अहिले भने त्यतिवेला चुप लागेका प्रहरी अधिकारी पनि मुखर भएका छन् ।
प्रहरीले घटनाको छानबिन कमजोर बनाउन मात्र होइन, अपराध गराउनसमेत भूमिका खेलेको खुलासा प्रहरीकै बहालवाला अधिकारीहरूले गर्न थालेका छन् । नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको अनुसन्धानकर्तालाई बताएका छन् । अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्र्याक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ ।
विस्फोटमा घाइते भएका र इँटाभट्टामा मारिएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्र्याक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा लगेको र जिउँदै इँटाभट्टामा हालेको आफूले देखेको बताएका थिए ।