म्याग्दी, कार्तिक १८ । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।
दरबाङबाट छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
ज्यान गुमाउनेमा गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीको ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिमकी ७० वर्षीया सतदेवी भट्टचन, बिम गाउँका ९ वर्षीय बालक रवि जुग्जाली र वडाध्यक्ष सुविन जुग्जालीको छोरी ११ वर्षीया आयुसा जुग्जाली रहेका छन् ।
घाइते १८ जनाको मात्र परिचय खुलेको छ । घाइतेहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको छ । बसमा कति जना सवार थिए भन्ने अझै एकिन भैसकेको छैन ।