प्रदर्शनीमार्गदेखि १७ औँ अनसन शुरु गर्दै डा. केसी, सरकारसँग ६ बुँदे माग

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १८ । प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि १७ औँ अनसन शुरु गर्ने भएका छन् । पटकपटक अनसन बस्दै आइरहेको डा. केसीले आफ्ना मागहरुप्रति सरकार सकारात्मक नदेखिएको र कार्यान्वयनमा नगएको भन्दै १७ औँ अनसन शुरु गर्न लागेका हुन् ।

सोमबारदेखि डा. केसीले प्रदर्शनीमार्गस्थित नेपाल चिकित्सक संघको भवनबाट १७ औँ अनसन शुरु गर्न लागेका छन् । डा. केसीले अनसनमार्फत सरकारसमक्ष ६ बुँदे माग राखेका छन् । सरकारले प्रत्येक अनसनको क्रममा आफुसँग गरेका सम्झौताहरु कार्यन्वयन गर्नुपर्ने उनको प्रमुख माग रहेका छन् ।

यस्ता छन् डा. केसीको १७ औँ अनशनका मागहरुः
१. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३. आदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस  कार्यक्रम संचालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपि कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम संचालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने ।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने । 

सम्बन्धित खबर

सिफारिस