काठमाडौँ, कात्तिक १९ । राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ खुवाएकी छिन् । मंगलबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक समारोहका बिच सातै जना प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
राष्ट्रपतिबाट सपथ ग्रहण गरिसकेपछि सातैजना नवनियुक्त प्रदेश प्रमुखहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा गएर जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । सोमबार मन्त्रीपरिषदको वैठकले राष्ट्रपति समक्ष नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सातवटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिईन् ।
नवनियुक्त प्रदेश प्रमुखहरुमा प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त रहेका छन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।