
बनेपा, कार्तिक २१ । बनेपा नगरपालिका–९ ठकुरी गाउँमा फोहर जलाउने मेशिन राख्न संरचना निर्माण गर्न भनी लगिएको डोजर सोमबार तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
फोहर व्यवस्थापन गर्न भन्दै नगरपालिकाले वडा नं ९ मा रहेको ठकुरी गाउँको कृषि फार्म नजिकै फोहर जलाउने मेशिन राख्नका लागि संरचना निर्माण गर्न भन्दै नगरपालिकाले डोजर लान खोजेपछि स्थानीय बासिन्दाले अवरोध गर्दा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा डोजरमा क्षति पुग्नुका साथै पाँच जना घाइते भएका थिए ।
डोजर अगाडि बढाउन खोज्दा आक्रोसित स्थानीय बासिन्दाले अन्धाधुन्ध ढुङ्गा र इँटा प्रहार गर्दा डोजरको सिसा फुटेर क्षति पुगेको थियो ।
सामानमा क्षति पु¥याएका कारण आवश्यक सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए । ठकुरी गाउँ कृषि फार्म फोहरमैलाविरुद्ध सङ्घर्ष समितिका उपाध्यक्ष डम्बर घिसिङलाई नियन्त्रणमा लिइएको सापकाटोले बताए ।
फोहर जलाउने मेशिन राख्दा मानवबस्ती र मानव सभ्यतालाई नै असर गर्दै वडा नं. ८, ९ र १० का स्थानीय बासिन्दाले पिउँदै आएको पानीको मुहानलाई समेत प्रभाव पार्ने भन्दै विरोध भएको छ । समितिको नेतृत्वमा भएको सो झडपमा वडा नं ९ ठकुरी गाउँका भीमसेन थापा, सावित्री थापा, रामप्रसाद पौडेल, मैना खत्री र सारदा तिमल्सिना घाइते भएका थिए ।
नगरपालिकाले भने फोहर व्यवस्थापन गर्न समस्या भएका कारण नगरपालिकाकै जग्गा भएको वडा नं ९ ठकुरी गाउँमा नगरभित्रको फोहरमैला व्यवस्थापनका लागि फोहर जलाउने मेशिन राख्ने तयारी गरेको जनाएको छ ।
सो मेशिनबाट फोहर जलाउँदा धुवाँ नआई बाफमात्रै निस्कने र कुनै खालको प्रदूषण नहुने तथा वातावरणमैत्री हुने भन्दै विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको मेशिन भएकाले परीक्षणका लागि नगरपालिकाकै जग्गा भएको ठाउँ वडा नं ९ मा राख्ने भएकाले त्यसका लागि विवाद नगर्न आग्रह गर्दै आएको छ ।
नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंहबादे श्रेष्ठले नगर कार्यपालिकाको बैठकबाट नगरको फोहरमैलाको व्यवस्थापन गर्नका लागि जलाउने मेशिन राख्ने विषयमा निर्णय गरिसकेकाले कुनै पनि हालतमा उक्त कार्य सम्पन्न गर्ने बताउँदै आएका छन् ।
बनेपा नगरपालिकाले फोहरको उचित व्यवस्थापनका लागि २०७६ वैशाख २९ मा ग्रिनपिस इन्भाइरोमेन्ट प्रालि काठमाडौँसँग फोहर व्यवस्थापनको सम्झौता गरी उक्त संस्थाले जापानी कम्पनीले निर्माण गरेको आधुनिक प्रविधियुक्त वातावरणमैत्री मेशिनबाट फोहर व्यवस्थापन गर्ने योजनाअनुरुप हिटा कम्पनीको एफ वान मोडलको धुवाँरहित चिम्नीको प्रयोग गर्ने भन्दै सो तयारी गर्न लागिएको हो ।
यसअघि कात्तिक ४ गते पनि मेशिन राख्ने संरचना निर्माण गर्न लाग्दा सो वडाको वडा अध्यक्षलगायत नेपाली काङ्ग्रेस पार्टीबाट सो ठाउँमा मेशिन राख्दा वातावरण प्रदूषण भएर मानव स्वास्थ्यमा असर पार्ने र केही विकासे संरचना नभएको भन्दै विरोध गरेपछि सहमति खोज्नका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा गत शुक्रबार जिल्ला समन्वय समिति, जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, सङ्घसंस्था लगातयको उपस्थितिमा संयुक्त बैठक भएको थियो ।