श्री लालीगुराँस सहकारी पीडितको मुद्दा देखाएर ऋषी धमलाको ‘सौदाबजी’ र ‘बार्गेनिङ’ भिडियो हेर्नुहोस् !

श्री लालीगुराँस सहकारी पीडितको मुद्दा देखाएर ऋषी धमलाको ‘सौदाबजी’ र ‘बार्गेनिङ’ भिडियो हेर्नुहोस् !

काठमाडौं, २८ कार्तिक । टेलिभिजन प्रस्तोताको रुपमा चर्चित ऋषी धमलालाई धमलाकै स्वामित्व रहेको प्राइम टेलिभिजनमा प्रशारित अन्तर्वार्तामा जनमोर्चा नेपालका अध्यक्ष चीत्र बहादुर केसीले भनिदिए,–‘ऋषी धमला विक्री हुने पत्रकार हो । यो काम लाग्ने मान्छे होइन भन्छन् नी बाहिर ।’


केसीले धमलाद्वारा सञ्चालिच ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा लगाएको यो आरोपलाई पुष्टि गर्ने गरी धमलाद्वारा सञ्चालित पाइम टेलिभिजनमा एउटा रहस्यमी काण्ड भएको छ ।


‘आवाज विहिनहरुको आवाज’ बन्नुपर्ने सञ्चारमाध्यमलाई विश्वास गरेर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित बनेका केशव पुरी लगायत पीडितहरुले प्राइम टेलिभिजनलाई आफ्नो पीडा सुनाएका थिए ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको भन्दै प्राइम टेलिभिजनको जनताको इजलाश नामक कार्यक्रम समलग्न रिपोर्टरले पीडितहरुलाई भेटेर रिपोर्ट तयार पारेको थियो ।

उक्त रिपोर्टबारे केही महिना अघि एउटा प्रोमो समेत बजेको थियो ।


‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचत गर्दै हुनुहुन्छ ? होसियार ! तपाईंको अर्बौंको सम्पत्ति लुटिनसक्नु हुन्छ । शेयर सदस्य र बचतकर्तासँगै ऋणीलाई लुट्न यसरी गरिन्छ जालझेल‘..’ यस्तो शब्द सहितको आवाजमा प्रोमो बजेको थियो । तर, प्रोमोमा भनिएको जनताको इजलाश कार्यक्रममा त्यो रिपोर्ट कहिल्यै बजेन । बरु उल्टै ठगी अभियोगमा सिआइबीदेखि विभिन्न निकायको छानबीनमा रहेका श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको अन्तर्वार्ता प्रशारण भयो ।


अचम्म त के छ भने सोहि दिन साँझ बजाउने भनिएको प्रोमो रोकेर धमलाको अनलाइन रिपोर्टस नेपालमा उल्टै ऋणीको बद्नामी गर्न सहकारीको एकोहोरो स्टेटमेन्ट प्रकाशन गरिदियो । श्री लालीगुराँस सहकारीको ठगीधन्दाको विषयमा तयार पारिएको प्रोमो फेसबुक युटुभ लगायत सामाजिक सञ्जालबाट डिलिट गरिएको थियो ।

यसरी प्रोमो समेत डिलिट गरेर पीडितहरुको भवनामा खेलवाड गरेको आरोप लागेको ऋषी धमलाद्वारा सञ्चालित प्राइम टेलिभिजनले पछिल्लो समय भने ठगी अभियोग लागेका श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीकै पक्ष पोषण गर्ने र पीडितकै बद्नामी गर्न लागि परेको तथ्य बाहिरिएको छ ।


केही दिनअघि सो टेलिभिजनले पीडितहरु चर्चित गायक रामकृष्ण ढकाल र केशव पुरीकै बद्नामी गर्नेगरी एउटा प्रोमो बजाएको थियो । प्रोमोमा ठगी अभियोग लागेका भण्डारीको पक्षपोषण गर्दै पीडितको बद्नामी गरिएको थियो । त्यति मात्रै होइन श्री लालीगुराँसकै एक कर्मचारीको भनाई राखिएको थियो । ती कर्मचारीले श्री लालीगुराँस सहकारीको समाचार प्रकाशन गर्ने कान्तिपुर दैनिक, न्युज २४ टेलिभिजन, दियोपोस्ट डटकम लगायत सञ्चार माध्यमलाई ‘झोले’ मिडियाको संज्ञा दिएका थिए ।


के धमलाले पीडितको मुद्दा लेनदेनमा साटे ?


चर्चित नेता चित्रबहादुर केसीले ‘विक्री हुने’ पत्रकार भनेर लगाएको आरोप सहि हो वा गलत हो त्यस विषयमा ऋषी धमलालाई नै थाहा होला । तर, लालीगुराँस सहकारीबाट पीडित भएकाहरु धमलाले आफूहरुको पीडा लगेर ठगी अभियुक्त सुरेन्द्र भण्डारीसँग लेनदेन गरेको आरोप लगाउँछन् ।


‘प्राईम टिभिमा मेरो प्रोमो बजाएर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीसँग यसरी सौदाबाजी गरियो । अहिले सोहि टिभिले लालीगुराँस सहकारीकै पक्षमा रिपोर्ट तयार गर्ने जिम्मा पाएको छ, पत्रकारितामा कमाउ अभियान जसरी जसरी हुँदो रहेछ,’ श्री लालीउगुराँस सहकारीबाट पीडित बनेका केशव पुरीले सामाजिक सञ्जालमै प्राइम टेलिभिजनले बजाएको पुरानो प्रोमो सार्वजनिक गर्दै लेखेका छन् ।

लालीगुराँस सहकारीबाट ठगिएका अर्का एक पीडितका अनुसार धमलाले पीडितको मुद्दा देखाएर निकै मोटो रकम हात पारेका छन् । ‘पीडितको मुद्दा देखाउने र पीडकसँग बार्गेनिङ गर्ने एउटा डरलाग्दो कालोधन्दा नेपालमा छ,’ एक वरिष्ठ पत्रकार भन्छन्,‘धमला जस्तो मान्छेहरुले पत्रकारीतालाई बद्नामी गर्ने र पीडितलाई थप पीडा दिने काम गरेका छन् । यसरी पीडितको मुद्दा लेनदेन गरेको कुरा बाहिर आउँदा भोली मिडियामा आवाज विहिनहरु कसरी आउलान् ?’


धमलाले बार्गेनिङ गरे : पीडित केशव पुरी


श्री लालीगुराँस सहकारीबाट आफूमाथि ठगी भएको भन्दै विभिन्न निकायमा गुहार मागिरहेका केशव पुरीले आफूले मिडिया प्रतिको विश्वास गुम्न थालेको बताए ।


‘वास्तवमा मिडियाबाट सहि विषय प्रवाहा हुन्छ भन्ने आम बुझाई छ । मेरो अनुभूति पनि त्यही थियो । प्राइम टेलिभिजनबाट ऋषी धमलाले एक जना भाई पठाएर मेरो बाइट लिनु भयो । मैले त्यो बेलामा तपाईंले बजाउनु हुन्छ भने मात्रै बाइट दिन्छु भन्दा त्यो भाइले तपाईंको नबजाएर कसको बजाउने भन्नु भयो,’ पुरीले दियोपोस्टसँग भने,‘हामी तपाईंलाई परेको अन्यायको विषयमा कुरा राख्छौँ भन्नु भयो । मैले मेरो पीडा सुनाएँ ।

केहीदिन पछि एक मिनेटको प्रोमो बजाउनु भयो । त्यो प्रोमो देखाएर श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग बार्गेनिङ गर्नुभयो । लेनदेनको कुरा मिलेपछि उहाँहरुले पीडा दिनेहरुको पक्षमा समाचार सामग्री प्रवाहा गर्नुभयो ।’


पुरीले पीडितको सँगै पीडकको पनि कुरा राख्दा आफूहरुको आपत्ति नरहेको बताए । एकोहोरो हिसाबले पीडितलाई पीडा दिने काम धमलाले गरेको उनले बताए ।


‘एक जना व्यक्ति होइन ५० औँ जना व्यक्तिलाई रुवाएको व्यक्तिकै भनाई राखेर हाम्रै विरोधमा समाचार सामग्री प्रकाशन गरेको देख्दा मलाई मिडिया प्रति सन्देह उत्पन्न भएको छ,’ पुरीले भने,‘यसले मिडिया प्रति हेर्ने दृष्टिकोण नै फरक भयो । हुन त सबै मिडिया त्यस्ता खालका छन् भन्न खोजेको होइन । तर, ऋषी धमला प्रवृत्ति भनेको बार्गेनिङ गर्ने, ठूला मान्छेको ध्वाँस देखाउने र पीडितलाई पीडा दिने रहेछ । बार्गेनिङ गर्ने मिडियाकै रुपमा उहाँ प्रस्तुत हुनु भएको छ ।’

Trending News