
चितवन, मंसिर १ । नेपाली सेनाको जवान राम कँडेलको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि चितवनमा तनाव उत्पन्न भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेका थिए ।
शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा मदिरा सेवन गरि अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताए ।
प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको तर आइतबार बिहान एक्कासी भाग्न क्रममा दुई तलामाथिबाट हाम फालेर गम्भिर घाइते भएका सैनिक जवान कँडेललाई उपचारको लागि अस्पताल लगिँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीको भनाई रहेको छ ।

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु भएपछि आइतबार मध्यान्हदेखि चितवनमा स्थानीयहरुले प्रदर्शन गरेका थिए । उनिहरुले पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन सडकखण्डमा अवरोध समेत गरेका थिए । अवरोधका कारण काठमाडौँ भित्रन लागेका र काठमाडौँबाट सोही राजमार्ग हुँदै बाहिरिन लागेका सवारी साधनहरु बिचैमा रोकिएर बसेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रदर्शनकारीहरु लाइ सहमतीमा ल्याउन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । अपराह्न भइसक्दा भने मुग्लिनमा सवारी साधनहरु चल्न थालेका छन् । हाल सैनिक जवान कँडेलको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तस्वीरः दानबहादुर गुरुङको फेसबुकबाट