माधव नेपाल भन्छन, ‘घुस लिएर कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्ने काम नेता र मन्त्रीबाटै हुन्छ’

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले कर्मचारीको नियुक्ति, सरुवा र बढुवामा नेता तथा मन्त्रीहरुले घुस खाने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सरुवा, बढुवा र नियुक्ति जस्ता नियमित पद्धतीमा समेत घुस खाने गलत प्रवृत्ती मौलाएको बताएका छन् ।

यस्ता क्रियाकलापहरुमा नेता र मन्त्रीहरु आफै लागेको कारणले समेत मुलुक बिग्रँदै गएको नेता नेपालको भनाई रहेको छ । ‘ कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस’, उनले भने, ‘यस्तै क्रियाकलापमा संलग्न नेता र मन्त्रीले देश बिगारेका छन् ।’

उनले स्थानीय तहमा विकासको नाउँमा करोडौँ बजेटमा लुट मच्चिरहेको समेत बताएका छन् । सरकारले सार्वजनिक जिम्मेवारीमा रहेर लुट मच्चाउन खोज्नेहरुलाई कडा कारवाही गर्नुपर्ने समेत माग गरेको छ । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरुमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाई छ। उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

बरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

सिफारिस