काठमाडौं, ४ मंसिर । कुनै समय गोल्छा अर्गनाइजेशन र चौधरी ग्रुपमा सामान्य म्यानेजरको रुपमा काम गर्ने सुह्रिदराज घिमिरे यतिबेला खर्बपति व्यापारीको सुचीमा पर्छन् । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका घिमिरेले सरकारी जग्गा व्यक्तिको नाममा हत्याएको खुलाशा भएको छ ।
घिमिरेले राजधानीको मुटु मानिने बालुवाटार स्थित बहुचर्चित ललिता निवासको १३ रोपनी सरकारी जग्गा आफ्नो आफन्तको नाममा हत्याएको खुलाशा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको तत्कालिन ललिता निवास क्षेत्र भित्रको १३ रोपनी जग्गा घिमिरेले आफ्ना सासु नाता पर्ने इन्दु शर्मा र व्यापारिक साझेदार पुरुषोत्तम पौडेलको नाममा राखेको खुलाशा भएको छ ।
आश्चर्य त के छ भने घिमिरेले उक्त जग्गा प्रति आना ५० हजार रुपैयाँमै हत्याएका छन् । दियोपोष्टले फेला पारेका लिखत अनुसार घिमिरले आफ्नै सासुको नाममा पटक पटक बालुवाटारको जग्गा दलाली धन्दा नै चलाएका थिए ।
विवादित व्यापारी तथा बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्त मिन बहादुर गुरुङ, बालुवाटार जग्गाकाण्डमा फरार अभियुक्तहरु रामकुमार सुवेदी र शोभाकान्त ढकालको मिलेमतोमा घिमिरले सासु आमाका नाममा जग्गा किन्ने र बेच्ने धन्दा नै चलाएका थिए ।
२०६३ मंसिर १३ गते नै घिमिरेकी सासु इन्दु शर्माको नाममा दुई पटक बालुवाटार क्षेत्रको सरकारी जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।
उक्त जग्गा लिखत अनुसार भाटभटेनीका मालिक समेत रहेका मिनबहादुर गुरुङ र कामना गुरुङको संयुक्त नाममा रहेको १२ आना दुई दाम जग्गा घिमिरेकी सासु इन्दु शर्माको नाममा पास भएको देखिन्छ ।

इन्दुको नाममा पास भएको उक्त जग्गाको मुल्य भने ६ लाख २५ हजार रुपैयाँ मात्रै उल्लेख छ । हिसाब गर्दा प्रति आना ५० हजार रुपैयाँ मात्रै पर्न आउँछ ।
राज्यलाई बुझाउनुपर्ने कर छली गर्नकै लागि कम मुल्य गरेर विक्री गरिएको देखिन्छ । उक्त जग्गा राजिनामा पास गरिएको कागजातमा बालुवाटार जग्गा बेचविखनका प्रमुख अभियुक्त मध्येकै रामकुमार सुवेदी र शोभाकान्त ढकाल साक्षी बसेका छन् ।
उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ । यद्धपी हालसम्म उनीहरु फरार नै रहेको अख्तियार स्रोतको भनाई छ । यता अर्का अर्बपति व्यापारी मिनबहादुर गुरुङले प्रत्यक्ष जग्गा किनबेच गरेको भएता पनि पत्रिका मार्फत सुचना सार्वजनिक गरेर बयानमा बोलाउनु पर्ने भएता पनि उनको नाम उल्लेख छैन ।
बालुवाटार क्षेत्रमा २०६३ सालमा प्रति आना १५ लाख रुपैयाँ भन्दा बढी मुल्य पर्ने जग्गा घिमिरेले भने ५० हजारमै कसरी हत्याए भन्ने विषयमा समेत अख्तियारले छानबीन गर्नुपर्ने देखिन्छ ।
इन्दु शर्माकै नाममा २०६३ मंसिर १३ गते नै अर्को जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।
इन्द्रदेव गुरुङको नामबाट कित्ता नम्बरहरु १९, २०, २१ र २२ का करिब १४ आना २ पैसा १ दाम जग्गा इन्दु शर्माको नाममा पास भएको देखिन्छ । उनले उक्त जग्गा पनि ७ लाख २८ हजार २ सय रुपैयाँमै पाएको देखिन्छ । उक्त लिखतमा पनि भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदी नै साक्षी बसेका छन् ।
२०६३ माघ २५ गते नै इन्दु शर्माको नाममा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ र उनका छोरा कल्याण गुरुङको नाममा रहेको जग्गा राजिनामा पास भएको छ । लिखत अनुसार गुरुङ परिवारले घिमिरेकी सास इन्दु घिमिरेलाई १३ आना जग्गा ६ लाख ८७ हजार ५ सय रुपैयाँमा विक्री गरेको देखिन्छ ।
इन्दु शर्माकै स्वामित्वमा रहेको अधिकांश जग्गाहरु किनबेच समेत भइरहेको पाइन्छ । रेकर्ड अनुसार व्यापारी घिमिरेकै कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेजका साझेदार समेत रहेका पुरुषोत्तम पौडेलको नाममा जग्गा राजिनामा पास भएको छ ।
२०६३ साल मंसिर १३ गते नै इन्दु शर्माको नाममा रहेको कित्ता नम्बरहरु ९२,९५, ९६ र ९७ का १ रोपनी आठ आना जग्गा कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज व्यापारिक साझेदार पुरुषोत्तम पौड्याललाई विक्री गरेको रेकर्डमा देखिन्छ । उक्त जग्गा भने एक लाख २५ हजार प्रति आनाका दरले कुल ३० लाख रुपैयाँमा विक्री गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि सुचना प्रकाशित गरेरै घमिरेकी सासु इन्दु शर्मालाई बयानका लागि बोलाएको थियो । यद्धपी बयानमा इन्दुले घिमिरेका पोल खोलिन् या जोगाइन् त्यो भने खुलिसकेको छैन ।
अहिले ललितानिवास परिसरमा यन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । हाल इन्दुको नाममा ललितानिवासभित्र कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको छ । यी सबै जग्गाको क्षेत्रफल जोड्दा करिब ४२ आना जग्गा इन्दु शर्माकै नाममा रहेको छ । बाँकी जग्गा भने घिमिरेले ससुरा तिर्थराज शर्माको नाममा पनि राखेको बताइन्छ ।
बालुवाटार क्षेत्रको १३ रोपनी जग्गालाई हालको बजार भाउ अनुसार डेढ अर्ब भन्दा बढी पर्छ । घिमिरेको विषयमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत छानबीन गरिरहेको छ । यद्धपी सम्पत्ति सुद्धिकरण विभागले घिमिरेमाथिको अकुत सम्पत्ति मुद्दाको छानबीनमा आलटाल गरेको भन्दै विभाग विरुद्ध नै उजुरी परिसकेको छ । राजधानीको बालाजु क्षेत्रमा करिब १२ रोपनी सरकारी जग्गा कौडीको भाउमा हत्याएर सरकारलाई भाडा तिर्न भने अस्विकार गर्दै आएका घिमिरेले कोमात्सु नामको डोजर विक्री गर्दै आएका छन् ।
उक्त डोजर विक्रीमा समेत अर्बौं रुपैयाँको भ्याट छली गरेको उनीमाथि आरोप छ । भ्याट छलीको मुद्दा लागेपछि उनले आफ्नै आमा कमला घिमिरेको नाममा रहेको जग्गा भने सट्टा पट्टा गरेर मिलाएको स्रोतको दाबी छ ।
घिमिरे विरुद्ध सम्पत्ति सुद्धिकरण विभागमा उजुरी !
नेपालमा विभिन्न धन्दा गरिरहेका घिमिरेले नेपालबाट अकुत सम्पत्ति विदेश लुकाएको भन्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । घिमिरेले ‘ट्याक्स फ्रि जोन’ भनिएको ब्रिटिस बर्जिन आयरल्याण्डमा अकुत सम्पत्ति लुकाएको आरोप छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संस्था आइसिआइजेको डेटाबेशमा समेत घिमिरेको अफसोर लिकबारे केही उल्लेख गरिएको छ ।

घिमिरेले आफ्नी छोरीको नाममा इको बे नामक कम्पनि नै खडा गरेको बताइन्छ । उनले आफ्नै व्यापारिक साझेदार तथा बालुवाटार जग्गाकाण्डका अभियुक्त पुरुषोत्तम पौडेललाई प्रयोग गरेर रकम लुकाएको आरोप छ ।
घिमिरेको स्वामित्व रहेको कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेजको नम्बरमा पटक पटक सम्पर्क गर्दा फोन उठेन ।