आयल निगममा ‘ठाडो भ्रष्टाचार’ : लागत अनुमान लत्याएर ३० प्रतिशत महँगोमा रिफ्युलर खरिद !

आयल निगममा ‘ठाडो भ्रष्टाचार’ : लागत अनुमान लत्याएर ३० प्रतिशत महँगोमा रिफ्युलर खरिद !

काठमाडौं, । नेपाल आयल निगमले हवाई इन्धन रिफ्युलर लागत अनुमान भन्दा निकै महँगोमा खरिद गरि चरम अनियमितता गरेको पाइएको छ ।


एक भारतीय कम्पनिले लागत अनुमानभन्दा झण्डै ३० प्रतिशत महँगोमा निगमलाई २७ हजार लिटरको चार थान रिफ्युलर सप्लाई गरेको पाइएको हो ।


निगमले भारतको नयाँ दिल्ली फरिदावास्थित मथुरा रोडमा रहेको ग्लोब हाइ फ्याब्स एलएपी नामक कम्पनी मार्फत चार थान रिफ्युलर खरिद गरेको थियो । यो कम्पनिसँग निगमले नियमित रुपमा रिफ्युलर आयात खरिद गर्दै आएको छ ।

मिति २०७३ माघ २१ मा २७ हजार लिटर क्षमता भएको एउटा रिफ्युलरको मुल्य एक करोड ९८ लाख ३१ हजार ३ सय ७४ अनुमानित लागत अनुमान तयार पारिएको थियो । तर, निगमले ३० प्रतिशत महँगोमा अर्थात प्रति गोटा २ करोड ९६ लाख नेपाली रुपैयाँ खर्च गरेर हवाई इन्धन रिफ्युलर खरिद गरेको हो ।


निगमले चार वटा रिफ्युलर ७ करोड ९७ लाख ८२ हजार भारतीय रुपयाँ अर्थात् नेपाली रुपैयाँ १२ करोड ७७ लाख ७० हजार ८ सय ७३ मा खरिद गरेको हो ।

२०७३ माघ २१ गते २७ किलोलिटर क्षमताको चार थान, १६ किलोलिटर क्षमताको ६ थान र १२ किलोलिटर क्षमताको चार थान रिफ्युलर खरिद गर्नका लागि आइसिबि टेण्डर (ईन्टरनेश्नल कम्पिटेटिभ बिडिङ) गरिएको थियो ।


२७ किलोलिटर क्षमताको हवाई इन्धन रिफ्युलरको अनुमानित लागत मुल्य १ करोड ९८ लाख ३१ हजार ३ सय ७४ रुपैयाँ र १७ किलो लिटर क्षमताको रिफ्युलरको अनुमानित लागत मुलय १ करोड २१ लाख ९१ हजार ४ सय १८ र १२ किलोलिटर क्षमताको रिफ्युलरको प्रतिगोटाको अनुमानित लागत मुल्य ९६ लाख ७१ हजार ८ सय ५९ रुपैयाँ तोकिएको थियो ।

निगमले २०७३ साल चैत्र १६ गते टेण्डर खोलेको थियो । न्युनतम रकम कबोल गर्ने एमएस÷ग्लोब हाइफ्याब्स एलएलपीले निगमको लागत अनुमान भन्दा ३० प्रतिशत महँगोमा कबोल गरेको थियो । लागत अनुमान भन्दा महँगो भएको भन्दै मुल्यांकन समितिले उक्त ठेक्का नै रद्द गरेको थियो । तर फेरी २०७४ फागुन ९ गते २७ हजार लिटर (किलोलिटर) क्षमताका ४ थान रिफ्युलर खरिदका लागि आइसिबि टेण्डर आह्वान गरिएको थियो । सो अवधिमा पनि २७ केएल क्षमताको हवाई इन्धन रिफ्युलरको प्रतिगोटा अनुमानित लागत मुल्य १ करोड ९८ लाख ३१ हजार ३ सय ७४ रुपैयाँ नै थियो ।


तर, निगमका उच्च अधिकारीले कमिशनकै लोभमा सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै भारतीय कम्पनिलाई ३० प्रतिशत महँगोमा रिफ्युलर खरिद गर्ने ठेक्का दिइएको हो । रिफ्युलर खरिदका लागि छानिएको उक्त कम्पनिसँगको बैठकमा तत्कालिन प्रबन्ध निर्देशक तथा भ्रष्टाचार अभियोगमा अख्तियारले डामिएका गोपाल बहादुर खड्का समेत थिए । खड्काकै पालामा यो खरिदको सबै प्रक्रिया अगाडी बढाइएको भएपनि खरिद भने हालका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलको कार्याकालमा भएको हो ।


स्रोतका अनुसार कमिशन बढाउनकै लागि लागत अनुमान भन्दा महँगोमा रिफ्युलर खरिद गरिएको हो ।


सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीका अनुसार निगमले एउटै मात्रै कम्पनीलाई लागत अनुमान भन्दा बढीमा रिफ्युलर खरिदको ठेक्का दिनु आफैमा भ्रष्टाचार हो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविन घिमिरेसँग निकट सम्बन्ध बनाएका निगमका प्रबन्ध निर्देशक पौडेलले यो प्रकरणलाई गुपचुपमै मिलाएको स्रोत बताउँछ ।

‘हाम्रोमा सार्वजनिक खरिद ऐन छ । त्यो ऐनले स्पष्ट रुपमा ३ वटा भन्दा कम कबोल आएमा ठेक्का रद्द हुन्छ,’ उनले भने,‘यहाँ त एउटैलाई पटक पटक ठेक्का दिइएको छ । यसमा मिलेमतो समेत देखिन्छ । हाम्रो कार्यालयले यसलाई गम्भिर रुपमा लिनुपर्छ ।’


भारतीय कम्पनिको नियमित ग्राहक नेपाल आयल निगम !


सार्वजनिक खरिद अनुगमन कार्यालयलाई नेपाल आयल निगमले लेखेको पत्र अनुसार ठेक्का प्रक्रियामा एउटै मात्रै कम्पनि सामेल भएका कारण सहमति माग गरिएको छ ।

तर, खरिदको ठेक्का हात पार्ने भारतीय कम्पनी ग्लोब हाइ फ्याब्सको वेभ साइटमा भने नेपाल आयल निगम नियमित ग्राहक ‘क्लाइन्ड भएको उल्लेख छ ।

Trending News