गजुरी गाउँपालिकामै नेतृत्व चयन गर्न शालिकराम जमकट्टेल असफल, बन्दशत्र स्थगित !

diyopost.com
दियो पोस्ट  शनिबार, मंसिर ११, २०७८ | २२:०७:५६

धादिङ । नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल जन्मस्थान गजुरी गाउँपालिकामै नेतृत्व चयनको विषयलाई लिएर विवाद भएको छ ।

वागमति प्रदेशको आर्थिक मामिला मन्त्री समेत रहेका जमकट्टेलले आफू अनुकुल व्यक्तिलाई गाउँपालिका अध्यक्ष बनाउन नपाएपछि पालिकाको अधिवेशन नै स्थगित गराएका छन् । शनिबार देशैभर जस्तै गजुरी गाउँपालिकाको पनि सम्मेलन उद्घाटन भएको थियो । सम्मेलनमा जमकट्टेल नै प्रमुख अतिथिको रुपमा वक्ता थिए । सम्मेलनमा सहभागी एक कार्यकर्ताका अनुसार जमकट्टेलले आफु निकट सुर्य तामाङलाई गाउँपालिका अध्यक्ष चयन गर्न चाहेका छन् । तर, सहभागीहरुले भने तारा भण्डारीलाई पालिकाको नेतृत्वमा देख्न चाहेको भन्दै विवाद भएको हो ।

विभिन्न दूरदराजबाट आएका प्रतिनिधिहरुलाई रात परेपछि पनि कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या आइलागेको ती कार्यकर्ताले बताए । कार्यक्रममा जनताको उपस्थिति पनि राम्रो भएको सहभागीले बताए ।
सहभागीहरुका अनुसार प्रमुख अतिथि जमकट्टेल नै कार्यक्रममा सबैभन्दा ढिला आएका थिए । उनले सम्बोधन गरेपछि बन्द शत्रमा नेतृत्व चयन हुने विश्वास लिएको थियो । तर, बालुवा तस्कर गणेशलाल श्रेष्ठले सुर्य तामाङलाई पालिकाको पार्टी अध्यक्ष बनाउनुपर्ने माग राखेपछि विवाद शुरु भएको थियो । सम्मेलनमा सहभागीहरुलाई व्यवस्थापन गर्ने विषयमा समेत चर्को विवाद भएको थियो । केही सहभागीले श्रेष्ठलाई प्रश्न समेत गरेका थिए ।

जमकट्टेलको संरक्षणमा श्रेष्ठले त्रिशुली नदिबाट अवैध रुपमा बालुवा तस्करी गर्दै आएका छन् । उनै श्रेष्ठलाई जमकट्टेलले यसअघिको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट दिलाएका थिए । तर, जनताले उनलाई हराएर एमालेका राजेन्द्र विक्रम बस्नेतलाई अध्यक्ष निर्वाचित गरिदिएका थिए । ‘जमकट्टेलका निकट भनिएका सुर्य तामाङले ८ वर्ष पालिका पार्टीको नेतृत्व गरे । तर, आज गजुरीमा माओवादीको अवस्था झनै खस्कँदै गएको छ । अर्कोतिर उहाँको पार्टीको काम भन्दा बालुवा तस्करहरुसँग उठबस छ,’ एक कार्यकर्ताले भने,‘पार्टी बनाउने भए पार्टी बुझेको मान्छे नेतृत्वमा आउनुपर्छ । नेताको आफ्नो मान्छे ल्याएर पार्टी बनाउने भए आफ्नै घरमा पार्टी विस्तार गरे हुन्छ । जनतालाई टाढादेखि सम्मेलन भनेर किन बोलाउनु पर्यो ?’

स्थानिय प्रतिनिधिका अनुसार बालुवा तस्कर श्रेष्ठले तामाङलाई पार्टीको अध्यक्ष बनाउन पाए आगामी निर्वाचनमा केही पैसा खर्च गरेर फेरी गाउँपालिका अध्यक्षको टिकट फुत्काउने दाउ रचेका थिए ।
आफू अनुकुल व्यक्ति पालिकाको नेतृत्वमा आउन विवाद भएपछि अहिले सम्मेलन स्थगित गरिएको छ । सम्मेलन कहिले हुने भन्ने अनिश्चित भएको छ ।

 

सम्बन्धित खबर