इन्गेजमेन्टपछि बिहे रद्द गर्ने केटाको घरमै पुगेर पुष्पाले आफ्नै शरीरमा लगाइन् आगो

दियो पोस्ट  

काठमाडौं । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन् । काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी हुन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन् । पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए । आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ । सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ ।

प्रहरीले आफ्नै शरीरमा आगो लगाएकी पुष्पालाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो । सोमबार बिहान पुष्पाको मृत्यु भएको हो ।