विष्णु पौडेल र रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा, पुनः मतगणनाको माग

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई निर्वाचित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
मंसिर ४ गते भएको रुपन्देही–२ को निर्वाचन परिणाम बदर माग गर्दै रिट दर्ता भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले रिट दायर गरेका हुन्। उनले संवैधानिक इजलासमा मतगणनाको माग गर्दै रिट दायर गरेका हुन्।

रुपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको रिटमा जिकिर गरिएको छ।

साथै धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। यहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए।

यो क्षेत्रमा पनि धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित एमालेका अरगरियाले सर्वोच्चमा मुद्दा दिएका छन्। दुवै रिट मंगलबार सर्वोच्चमा दर्ता भएका थिए। यी मुद्दा संवैधानिक इजलासले हेर्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ।