क्रोएसियाविरुद्ध ब्राजिलः नेइमारलाई पेलेको सर्वाधिक गोलको बराबरी गर्ने मौका

दियो पोस्ट  

काठमाडौं । कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार राती क्रोएसियाविरूद्ध हुने क्वाटरफाइनलका लागि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलले तयारी पुरा गरेको छ। चोटबाट फर्किएका नेइमारको खेल आजका लागि विशेष हुनेछ। किनभने उनी आफ्ना देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानबाट एक गोलले मात्र पछाडि छन्।

पेलेले ब्राजिलका लागि अहिलेसम्म सर्वाधिक ७७ गोल गरेका छन्। नेइमारको नाममा ७६ गोल छ। क्रोएसियाविरूद्ध आज हुने क्वाटरफाइनल खेलमा उनले गोल गरेको खण्डमा पेलेको कीर्तिमानको बराबरी हुनेछ । पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए। उनको उत्कृष्ट खेलमा ब्राजिलले तीन पल्ट विश्वकप उपाधि जितेको थियो।

नेइमार आफ्नो उपस्थितिमा ब्राजिललाई विश्वकप दिलाउने अभियानमा सक्रिय छन्। उनले १ सय २३ खेलमा ७६ गोल गरेका छन्। पेले हाल अस्वस्थ छन्। उनको स्वास्थ्यको कामना गर्दै ब्राजिलका खेलाडीले प्रिक्वाटर फाइनलमा दक्षिण कोरियालाई पराजित गरेपछि मैदानमा ब्यानर प्रदर्शन गरेका थिए।

म्याच प्रिभ्यु
हेड टु हेड

दुई टोलीबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिलले तीन खेलमा जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

क्रोएसिया-डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, एन्ड्रेज क्रमारिच, मार्को लिभाजा, इभान पेरिसिच

ब्राजिल-एलिसन, एडर मिलिटाओ, थियागो सिल्भा, मार्किन्होस, डानिलो, कासेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, रिचार्लिसन, भिनिसियस जुनियर

प्लेयर्स टु वाच

यस खेलमा क्रोएसियाका लुका मोड्रिच र ब्राजिलका नेयमार प्लेयर्स टु वाचमा रहेका छन् ।