काठमाडौँ । विश्वकप फुटबल अन्तर्गतका क्वाटरफाइनलका खेलहरु आज र भोलि हुने छन् । क्वाटरफाइनलको दोस्रो खेल नेदरल्याण्डस र अर्जेन्टिनाबीच नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ । नेदरल्याण्डस र अर्जेन्टिनाबीच अहिलेसम्म विश्वकपमा ५ सहित कुल ९ पटक भिडन्त भएको छ । जसमा अर्जेन्टिनाले ३ खेल जितेको छ भने नेदरल्याण्डसले ४ खेल जितेको छ । त्यस्तै २ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक दुवै देशको भिडन्त २०१४ को विश्वकपमा भएको थियो । २०१४ को विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनलमा पुगेको थियो । यस विश्वकपमा नेदरल्याण्डस २०१४ कोहारको बदला लिने दाउमा रहेको छ ।
नेदरल्याण्डसको विश्वकप यात्रा
यस विश्वकपको समुह ए मा रहेको नेदरल्याण्डस समुह चरणमा अपराजित हुदै राउण्ड १६ मा पुगेको थियो । समुह चरणको पहिलो खेलमा सेनेगललाई २-० ले, दोस्रो खेलमा इक्वेडरसँग १-१ गोलको बराबरी र तेस्रो खेलमा आयोजक कतारलाई २-० ले पराजित गर्दै नेदरल्याण्डसले ३ खेलमा ७ अंकसहित समुह विजेता बनेर राउण्ड १६ मा पुगेको थियो । राउण्ड १६ मा नेदरल्याण्डसले अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको विश्वकप यात्रा
अर्जेन्टिनाको यस विश्वकपको यात्राको शुरुवात बहने निकै खराब भएको थियो । साउदी अरेबियासँग २-१ को पहिलो खेलको हारपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरामा परेको थियो । तर अर्जेन्टिनाले पुनरागमन गर्दै त्यसपछिका दुवै खेलमा मेक्सिको र पोल्याण्डलाई २-०, २-० को अन्तरले पराजित गरेर समुह विजेताको रुपमा राउण्ड १६ मा प्रवेश गरको थियो । त्यसपछि राउण्ड १६ अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
नेदरल्याण्डस प्रिभ्यु
नेदरल्याण्डस ११औं पटक विश्वकपमा खेलिरहेको छ । पछिल्लो पटक रसियामा सम्पन्न विश्वकपमा छनौट हुन असफल भएको नेदरल्याण्डसको यस विश्वकपमा पुनरागमन गरेर उत्कृष्ट लय देखाएको छ । फिफा वरियतामा आठौँ स्थानमा रहेको नेदरल्याण्डस यस अघि तीन पटक विश्वकपको फाइनलमा पुगेको छ । नेदरल्याण्डस १९७४, १९७८ र २०१० मा विश्वकपको उपविजेता बनेको थियो । नेदरल्याण्डस लुइस भान गालको प्रशिक्षणमा विश्वकप खेलिरहेको छ । ७१ बर्षिय भान गाल यस अघि म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, बार्सिलोना, अयाक्स जस्ता क्लबमा प्रशिक्षकको जिम्मेवारी निभाएका चर्चित प्रशिक्षक हुन् । उनको नेतृत्वमा नेदरल्याण्डस २०१४ को विश्वकपमा तेस्रो भएको थियो । नेदरल्याण्डसको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा उनको यो तेस्रो कार्यकाल हो । यस अघि २००० देखि २००१ सम्म, २०१२ देखि २०१४ सम्म उनी प्रशिक्षक बनेका थिए भने उनी हाल २०२१ देखि नेदरल्याण्डसको प्रशिक्षक रहेका छन् । नेदरल्याण्डसको प्रमुख खेलाडी कप्तान भिर्गिल भान डाइक हुन् । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने ३१ बर्षिय डिफेन्डर भान डाइकले नेदरल्याण्डसका लागि अहिलेसम्म ५३ खेल खेलेका छन् भने ६ गोल पनि गरेका छन् । त्यस्तै बार्सिलोनाबाट खेल्ने मेम्फिस डिपे र फ्रांकी डी जोंग जस्ता खेलाडीले नेदरल्याण्डसलाई विश्वकपमा दाबेदार टिमको रुपमा पनि देख्न सकिन्छ । त्यस्तै यस विश्वकपमा पीएसभीबाट खेल्ने २३ बर्षिय स्ट्राइकर कोडी गाक्पोले निकै प्रभावित गरेका छन् । उनले अहिलेसम्म ३ गोल गरेर गोल्डेन बुटको दौडमा आफुलाई दोस्रो स्थानमा राखेका छन् ।
अर्जेन्टिना प्रिभ्यु
अर्जेन्टिना १८औँ पटक विश्वकप खेलिरहेको छ । अहिलेसम्म अर्जेन्टिनाले १९७८ र १९८६ मा दुई पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिना गत विश्वकपमा राउण्ड १६ सम्म पुगेको थियो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना लियोनेल स्कालोनीको प्रशिक्षणमा विश्वकप खेलिरहेको छ । अर्जेन्टिनाका पुर्व खेलाडी समेत रहेका ४४ बर्षिय स्कालोनी २०१८ देखि अर्जेन्टिनाको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा अर्जेन्टिनाले अहिलेसम्म ५४ खेल खेलेको छ र ३६ खेलमा जित हासिल गरेको छ । स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो । अर्जेन्टिनालाई यस विश्वकपको प्रमुख दाबेदार मानिएको छ ।
अर्जेन्टिनाका लागि प्रमुख खेलाडी लियोनेल मेसी हुन् । सम्भवत यो विश्वकप मेसीको अन्तिम विश्वकप हुनेछ । अर्जेन्टिनाको कप्तान समेत रहेका मेसीले अहिलेसम्म १६९ खेलमा ९४ गोल गरेका छन् । मेसी बाहेक यस विश्वकपमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । मेसीले यस विश्वकपमा अहिलेसम्म ३ गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका छन् भने अल्भारेजले २ गोल गरेका छन् ।