काठमाडौँ । लियोनेल मेसीले नेदरल्याण्डसविरुद्धको विश्वकपको क्वाटरफाइनल खेलमा रेफ्रीले राम्रो भूमिका नखेलेको आरोप लगाएका छन् ।प्रमुख रेफ्रीको भूमिका निभाएका स्पेनका रेफ्रि एन्टोनियो माटेउ लाहोजले विश्वकप जस्तो प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै आक्रोशित भएका हुन् । अर्जेन्टिना र नेदरल्याण्डसबीचको खेलमा रेफ्रीले कुल १८ पहेलो कार्ड दिएका थिए भने खेल सकिएपछि नेदरल्याण्डसका डेनजेल डमफ्राइजलाई रातो कार्ड दिएका थिए । खेलपछि कुरा गर्दै मेसीले भने- ‘ म रेफ्रीको बारेमा कुरा गर्न चाहन्न । किनकी उनीहरु इमान्दार थिएनन् । फिफाले यस बारेमा हेर्नु पर्छ । फिफाले आफ्नो भूमिका निभाउन नसक्नेलाई यति ठुलो खेलमा राख्नु हुदैन ।’ यस खेलमा विश्वकपको इतिहासमै अहिलेसम्मको सबैभन्दा धेरै पहेलो कार्ड दिइएको थियो । यसअघि २००६ मा पोर्चुगल र नेदरल्याण्डसबीचको खेलमा १६ पहेलो कार्ड दिइएको थियो । प्रतिष्पर्धात्मक खेलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गरेर विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा अर्जेन्टिनाले क्रोसियाको सामना गर्ने छ ।