धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरका अनुसार आज बिहान ८ बजे विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।
‘विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा छ,’ घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, ‘निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ ।’
मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।