क्रोएसियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनालाई २–० को अग्रता

दियोपोस्ट संवाददाता

काठमाडौं । फिफा विश्वकपमा मंगलबार जारी सेमिफाइनलको पहिलो हाफमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियाविरुद्ध २–० को अग्रता बनाएको छ ।

कतारको लुसैल रंगशालामा जारी खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले आफ्नो १८ यार्ड बक्सभित्र अर्जेन्टिनाका फरवार्ड युलियन आल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

यसको पाँच मिनेटपछी नै अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । अर्जेन्टिनाका लागि आल्भारेजले अग्रता दोब्बर पारेका थिए । आल्भारेजले आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका पाँच रक्षकलाई कटाउदै उत्कृष्ट ‘सोलो’ गोल गरेका थिए । विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनल खेलमा हार बेहोरेको छैन । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खबर

सिफारिस