सजाय भोगिरहेकाहरुलाई राजनीतिक आवरणमा उन्मुक्ति नदेऊ : आयोग

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अदालतले दोषी ठहर गरी सजाय भोगिरहेका एवं मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएका दोषीहरुलाई राजनीतिक आवरण दिइ उन्मुक्ति नदिन, त्यसप्रकारको कानुन समेत नबाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले टीकापुर घटनामा संलग्नताको आरोपसहित जेल सजाय भोगिरहेका रेशम चौधरी लगायतका नेताहरुलाई रिहाइ गर्ने उद्देश्य राखेर राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको छ। आयोगले सोही अध्यादेशतर्फ लक्षित गर्दै आपराधिक घटनाका दोषीलाई उम्मुक्ति दिइ दण्डहीनतालाई प्रश्रय नदिन भनेको हो।

आपराधिक घटनालाई राजनीतिक दृष्टिले मात्र हेर्दै जाने हो भने आवाजविहीन नागरिकहरुको राज्यप्रतिको आशा एवं भरोसा टुट्दै जाने अवस्था सिर्जना हुने आयोगले भनेको छ ।