सशस्त्रमा एकैपटक साढे आठ हजार जवान हेरफेर, रोजाईको ठाउँमा गरियो सरुवा

दियो पोस्ट  

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ । सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो ।

सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए । यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ ।

सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो । यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको एसएसपी थापाले दियोपोस्टलाई बताए ।

उनका अनुसार घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको हो । विगत देखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ ।

मुख्यालयले फारम भराएर जवानहरूको इच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो । यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयको छ ।